Tue. Dec 24th, 2024

नाइजेरियाको राजधानीमा जेलमा सशस्त्र आक्रमण, कम्तीमा ३०० कैदी भागे   

अबुजा, २०७९ असार २३ गते बिहीबार । नाइजेरियाको राजधानी सहर अबुजाको जेलमा अज्ञात बन्दुकधारीले मङ्गलबार गरेको आक्रमणमा एक कैदीको मृत्यु भएको छ भने कम्तीमा ३०० कैदी फरार भएका एक वरिष्ठ सुरक्षा अधिकारीले बुधबार जानकारी दिएका छन् ।

घटनामा अन्य तीन जना घाइते भएका पनि बताइएको छ । आक्रमणकारीहरूले मंगलबार राति अबुजाको दक्षिण पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको सुधार गृहमा आक्रमण गरेका थिए ।

उनीहरूले करिब ६०० जना कैदीबन्दीलाई छुटाएपनि अहिलेसम्म भाग्ने कैदीबन्दीको आधा संख्यालाई पुनः सुरक्षा नियन्त्रणमा लिइएको यहाँका आन्तरिकमामिला मन्त्रालयका स्थायी सचिव शुइबु बेगोरले बताउनुभयो ।

बेगोरले बुधबार सञ्चारकर्मीहरूसँग बताएअनुसार कट्टरपन्थी समूह बोको हरामका लडाकू दस्ताले आक्रमण गरेको आशंका गरिएको छ । उहाँका अनुसार केही बोको हराम सदस्य र पुर्पक्षका लागि खडा भएका वा पहिल्यै दोषी ठहरिएका उच्च–प्रोफाइलका सरकारी अधिकारीसहित ९९४ कैदीहरू उक्त सुधार गृहमा रहेका थिए ।

“हामीले बुझेका छौं कि तिनीहरू बोको हराम आतङ्कवादी हुन् र विशेष गरी तिनीहरूले कैँदी भगाउने उद्देश्यले नै त्यहाँ आक्रमण गरेका थिए ।

एक वक्तव्यमा नाइजेरिया सुधार सेवा (एनसीएस) का राष्ट्रिय प्रवक्ता अबुबकर उमरले उक्त आक्रमणलाई सुरक्षा निकायहरुले सफलतापूर्वक विफल पारेको बताउनुभयो ।  रासस/सिन्ह्वा

Facebook Comments