Sat. May 18th, 2024

एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न ४ जनालाई आजीवन कारावासको सजाय

काठमाण्डौं, २०७९ असार २१ गते मंगलबार ।

जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न ४ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । साथै सोही घटनामा संलग्न एक जनालाई २५ वर्षको अर्थात दुई तिहाई मात्र  कारावासको फैसला सुनाइएको छ ।

जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न ५ जना मध्ये ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको हो ।

गत २०७८ भदौ २१ गते संखुवासभाको मादी नगरपालिका-१, उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो ।

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न ५ जनालाई कसुरदार ठहर गर्दै सोमबार फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिनुभयो ।

श्रेस्तेदार गौतमका अनुसार हत्यामा संम्लग्न मादी -१ का २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की र ४९ वर्षीय रणबहादुर कार्कीलाई आजीवन कारवासको फैसला भएको हो । यसैगरी, १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाइएको छ ।

हत्यामा संम्लग्न भएका १७ बर्षीय नरेशलाई बाल सुधार गृह भक्तपुर र अन्य चार जनालाई जिल्ला कारागार खाँदबारीमा राखिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले सोही दिन मृतक परिवारको राहत कोषमा ४ जनाले दुई-दुई लाख रुपैयाँ क्षतिपुर्ति र पीडित राहत कोषमा २८ सय रुपैयाँ रकम समेत जम्मा गर्ने आदेश भएको जिल्ला अदालत संखुवासभाले जनाएको छ ।

उनीहरु सबै मृतक तेजबहादुर परिवारकै नाताका व्यक्तिहरु हुन् ।

जिल्ला प्रहरी संखुवासभाले पनि ४ जना विरुद्ध आजीवन कारवास सजाय माग दाबी गरेको थियो ।

गत २०७८ भदौ २१ गते उम्लिङ खोला गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

अनुसन्धानको नालीबेली यस्तो थियो

घटना घटेपछि इलाका प्रहरी कार्यालय चैनपुर, जिल्ला प्रहरी कार्यालय संखुवासभा, १ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआइजी अरुण कुमार बिसी को कमान्डमा सिआइबी, संघीय इकाइ प्रहरी कार्यालयसहित को टोलिले घटनाको अनुसन्धान गरी लोक बहादुर कार्किलाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरेको थियो ।

लोक बहादुर कार्की पक्राउ परेपछि पुन: थप अनुसान्धानको लागि चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडासहितको टोलीले दोश्रो पटक घटनास्थलमा नै खटिएर थप अनुसन्धान गरेको थियो । सोही क्रममा बाँकी ५ जनालाई प्रमाणसहित पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

पक्राउ पर्ने मध्ये प्रतिबादी लोकबहादुर कार्कीका बुबा रणबहादुर कार्कीलाई सोही घटनामा मारिएकाहरुको कृया बसिरएको समयमा पक्राउ गरिएको थियो ।

यो घटना पश्चात घटना घटाउन प्रयोग गरिएको हतियार र हराएको मोबाइलसमेत प्रहरीले बरामद गरेको थियो ।  घटनाको सफल अनुसन्धान गरेका खतिवडालाई १ नम्बर प्रदेश प्रहरी कार्यालयले १४ जिल्ला मध्ये छनौट गरी भाद्र महिनाको सर्बोत्कृस्ट प्रहरीको रुपमा पुरस्कृत समेत गरेको छ।

प्रहरी निरिक्षक खतिवडालाई २०७८ सालको प्रहरी दिवसको अवसरमा १ बर्षभित्र कार्यसम्पादन मा सर्बोत्कृस्ट प्रहरीलाई प्रदान गरिने सबैभन्दा ठूलो धनराशिको ‘साधनादेबी उत्कृष्ट प्रहरी पुरस्कार’बाट नगद ५० हजार रुपैयाँ प्रदान गरिएको थियो । नेपाल टेलिभिजन

Facebook Comments