Fri. May 17th, 2024

भारतको मणिपुरमा पहिरोले सेनाको क्याम्प पुर्दा ज्यान गुमाउनेहरुको संख्या ४२ पुग्यो, २० जना बेपत्ता

काठमाण्डौं, २०७९ असार २० गते सोमबार । भारतको पूर्वोत्तर राज्य मणिपुरमा पहिरोले भारतीय सेनाको क्याम्प पुर्दा अहिलेसम्म ज्यान गुमाउनेहरुको संख्या ४२ पुगेको छ । मणिपुरको नोने जिल्लामा चारदिन अघि निर्माणाधीन रेल्वेमा पहिरो गएको थियो । पहिरोमा परी हराएकाहरुमध्ये ४२ जनाको शव निकालिएको छ । २० जना अझै बेपत्ता छन् ।

राजधानीबाट ७५ किलोमिटर टाढा रहेको सो क्षेत्रमा जुन २९ र ३० मा डरलाग्दो पहिरो गएको थियो । रेल्वे निर्माणको सुरक्षार्थ खटिएका १ सय ७ जना बसेको भारतीय आर्मी क्याम्पलाई पनि क्षति पुगेको छ । ‘निकालिएका ४२ जनाको शवमध्ये २७ जना सेनाका छन् भने बाँकी १५ जना सर्वसाधारण रहेका छन् ।’ सरकारी अधिकारीहरुलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

ती सरकारी अधिकारीहरुका अनुसार सो क्षेत्रमा अविरल वर्षासँगै पहिरोहरु गइरहेकाले जनधनको क्षति न्यूनिकरण गर्न सर्वसाधारणलाई चनाखो हुन अपिल गरिएको छ । त्यहाँ अविरल वर्षाका कारण खोल्सा र नदीहरुमा पानीको बहाव बढिरहेको छ ।

यसैबीच, मणिपुर राज्यका दुईजना मन्त्रीहरु एस रञ्जन (स्वास्थ्य) र एल सुसिन्द्रो (उपभोक्ता)ले पहिरो प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएको छ । खोजतलास र विपदमा परेकाहरुको उद्धार गर्न केन्द्र र राज्य सरकारका ४०० जना भन्दा बढी स्वयंसेवक परिचालित भएका थिए । राज्य सरकारले पहिरोबाट ज्यान गुमाउनेहरुका प्रत्येक परिवारलाई ५ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ ।

Facebook Comments