Tue. Dec 24th, 2024

मन्त्री हेरफेर गर्दै एकीकृत (समाजवादी), जीवनराम र मेटमणीलाई पर्यटन तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी

काठमाण्डौं, २०७९ असार २ गते बिहीबार । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई बुधबार बसेको स्थायी कमिटीले अनुमोदन गरेको उहाँले बताउनुभयो । “उचित समयमा बजेटको काम सकिएपछि हामीले नयाँ मन्त्री पठाउनेछौँ”, उहाँले भन्नुभयो । पार्टी उच्च श्रोतका अनुसार सांसद जीवनराम श्रेष्ठलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ, हाल सो जिम्मेवारीमा प्रेम बहादुर आले मगर रहनु भएको छ । मन्त्री रामकुमारी झाँक्रीले सम्हालिरहनु भएको शहरी विकास मन्त्रालयको जिम्मेवारी सांसद मेटमणि चौधरीलाई दिईने भएको छ । बैठकले राष्ट्रिय हितमा प्रतिकूल पार्ने कुनै पनि किसिमका सन्धि सम्झौता गर्न नदिने र सरकारले त्यो कुरामा सजक गराइने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो ।

पार्टीले निर्वाचनको समीक्षा गर्दा कांग्रेस र माओवादीलगायत पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने प्रयास गर्ने तथा विगतका कमजोरीलाई सच्याउनका लागि सबैलाई एक ठाउँमा ल्याउने र अझ परिकृत भएर अगाडि बढ्ने निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो । उहाँका अनुसार असार १० गते पोलिटब्युराको बैठक, ११ गते केन्द्रीय कमिटी बैठक र असार १२ र २३ गते केन्द्रीय परिषद्को बैठक डाँकिएको छ ।

Facebook Comments