Sat. Sep 28th, 2024

अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए. फ्लिनको राजनीतिक भेटघाट तिब्र

काठमाण्डौं, २०७९ जेठ २८ गते शनिबार ।  द्विपक्षीय हित र पारस्परिक सम्बन्धमा जोड दिँदै नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सेनाको एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले काठमाण्डौमा शुक्रबार उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट तथा प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्नुभयो। भेटमा अमेरिकी दूतावासका उपप्रमुख मनुकल पी मिकलर पनि सहभागी हुनुहुन्थ्यो ।

बिहीबार नेपाल भ्रमणमा आउनु भएका जनरल फ्लिनले शुक्रबार बेलुकी शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको हो । ‘उहाँले नेपाली सेनाका प्रधानसेनापतिको अमेरिका भ्रमणको पूर्वतयारीका लागि आएको जानकारी गराउनुभयो,’ राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकालले भन्नु भयो ।

जनरल फ्लिनले नेपाली सेना र अमेरिकी सेनाबीच सहकार्य रहेको उल्लेख गर्दै यसलाई थप अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको ढकालले बताउनु भयो । नेपाली सेनाको परमाधिपतिसमेत रहनु भएका राष्ट्रपति भण्डारीले नेपाल शान्तिको पक्षमा रहेको र शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मेको अवगत गराउँदै नेपाली सेनाले विश्व शान्ति स्थापना कार्यमा काम गरिरहेको बताउनु भएको थियो । भेटमा उहाँले शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदाय र अमेरिकी सरकारबाट प्राप्त सहयोगमा धन्यवाद दिनुभयो । केही वर्षयता नेपाली सेनाले अमेरिकी सेना, भारतीय सेना र चिनियाँ जनमुक्ति सेनासँग संयुक्त सैनिक अभ्यास गर्दै आइरहेको छ । साथै, अमेरिका, भारत र चीनसँग भूकम्प, कोभिड–१९ र अन्य समयमा पनि सहयोग लिँदै आइरहेको छ ।

राष्ट्रपति भण्डारीसँग भेट गर्नुअघि जनरल फ्लिन बालुवाटारमा प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवालाई शिष्टाचार भेट गर्न पुग्नु भएको थियो । भेटमा नेपाल र अमेरिकाका सेनाबीचको सहकार्यका बारेमा कुरा भएको थियो । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा नेपालको निरन्तर योगदानको जनरल फ्लिनले प्रशंसा पनि गर्नुभएको थियो । प्रधानमन्त्री देउवालाई भेट्नुअघि जनरल फ्लिन सैनिक मुख्यालय जंगी अड्डा पुग्नु भएको थियो । उहाँको सम्मानमा जंगी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारथ दिएको थियो । नेपाली सेनाको अपरेसनल गतिविधिका बारेमा प्रस्तुतीकरणसमेत गरिएको सेनाले जनाएको छ । त्यसपछि प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

उच्च पदस्थ अधिकारीबाट विगतमा भएका सद्भावना भ्रमणको निरन्तरतास्वरूप चारदिने औपचारिक भ्रमणका क्रममा जनरल फ्लिन शनिबार हिमाल दृश्यावलोकनका लागि माउन्टेन फ्लाइटमा सहभागी हुने कार्यक्रम छ । यस्तै, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरी आइतबारै उहाँ स्वदेश फिर्ता हुनुहुनेछ । कान्तिपुर अनलाईन

फोटो : नेपाली सेनाको फेसबुक पेज

Facebook Comments