Fri. May 3rd, 2024

त्रिशूली-३ ‘ए’ को उच्च भोल्टेजको तारमा चढेका विकको आठ घण्टापछि सेनाले गर्‍यो उद्धार

काठमाण्डौं, २०७९ जेठ २८ गते शनिबार ।  बिजुलीको उच्च भोल्टेजको तारमा चढेका माइला विकलाई नेपाली सेनाले उद्धार गरेको छ। तारमा चढेको करिब आठ घण्टापछि नेपाली सेनाको हेलिकप्टरमा पुगेको टोलीले उद्धार गरेको नुवाकोटाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो।

प्रजिअ रिसालले भन्नुभयो, ‘‘नेपाली सेनाको हेलिकप्टरमा आएको विशेष टोलीले भर्खरै बिजुलीको पोलबाट उद्धार गरेर प्रहरीलाई बुझाएको छ।’’ प्रजिअ रिसालका अनुसार पोलमा चढेको आठ घण्टापछि विकको सकुसल उद्धार भएको हो। उहाँ अहिले प्रहरी नियन्त्रणमा हुनुहुन्छ।

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–७ मा रहेको माथिल्लो त्रिशूली–३ ‘ए’ को उच्च भोल्टेजको तारमा नुवाकोट बेलकोटगढी नगरपालिका १३ घर भएका माइला विक चढेपछि शनिबार समग्र विद्युत प्रणालीमै असर परेको थियो।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार आठ घण्टादेखि त्रिशूली–३ ‘ए’ र अर्को सानो चार पाँच मेगावाटको आयोजनाको बिजुली प्रभावित भएको थियो। विकको उद्धार भए लगत्तै साँझ ७ बजेर ५८ मिनेटमा बिजुली चालु भएको प्रवक्ता भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो।

विक शनिबार बिहान ११ बजेदेखि उच्च भोल्टेजको बिजुलीको तारमा चढेको जानकारी आएपछि लाइन काटिएको थियो। उहाँ परिवारसँग झगडा गरेर बिजुलीकाे तारमा पुगेको स्थानीयले बताएका छन्। गोरखापत्र अनलाईन

उद्धार गर्न ऊर्जा मन्त्रीको निर्देशन

नुवाकोटको ककनी–७ मा अवस्थित नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनमा एक व्यक्ति चढेपछि निजलाई उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले निर्देशन दिनुभएको छ ।

आज बिहान ११ बजे सो प्रसारण लाइनमा ती व्यक्ति चढेपछि विद्युत् प्रसारण अवरुद्ध छ । उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि त्यसको प्रभाव दशेभर परेको छ । प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि माथिल्लो त्रिशूली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नु परेको छ । प्रणालीमा ६५ मेगावाट बिजुली अपुग भएको छ ।

माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट क्षमतामा नै चलिरहेको थियो भने अन्य केही आयोजनाको बिजुली समेत सोही प्रसारण लाइनमार्फत काठमाडौँ ल्याइएको छ । स्थानीयवासीका अनुसार प्रसारण लाइनमा चढ्ने व्यक्ति बेलकोटगढी नगरपालिका १३ घले गाउँका ४४ वर्षीय माइला विक हुन् । उनलाई प्रहरी र स्थानीयवासीले निरन्तर तल झार्ने प्रयास गरे पनि हालसम्म सफलता हात लागेको छैन । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले झण्डै ६ घण्टादेखि ६५ मेगावाट बिजुली प्रणालीबाट बाहिर रहेको जानकारी दिनुभयो ।

मन्त्री भुसालले प्रसारण लाइनमा झुन्डिएका माइलाको उद्धारका लागि नेपाली सेनालाई आग्रह गर्नुभएको छ ।  उहाँले भन्नुभयो “विद्युत् लाइनको जोखिमलाई ध्यान दिएर हेलिकोप्टरबाट भए पनि उद्धार गरौँ भनेर सेनालाई आग्रह गरेको छु ।” रासस

Facebook Comments