Thu. May 16th, 2024

डा. मनोजमान श्रेष्ठको नेतृत्वमा इवामुरा अस्पतालको नयाँ व्यवस्थापन

काठमाण्डौं, २०७९ जेठ २५ गते बुधबार । वरिष्ठ रेडियोलोजिष्ट डा. मनोजमान श्रेष्ठको नेतृत्वमा भक्तपुर सल्लाघारीस्थित इवामुरा मेमोरियल अस्पतालको सञ्चालनको लागि नयाँ समिति आएको छ ।

२५ वर्ष पुरानो सो अस्पताललाई आउदो असार १ गतेदेखि व्यवस्थापकीय नेतृत्व प्रदान गर्न डा. मनोजमान श्रेष्ठ लगायत वरिष्ठ चिकित्सकहरुको टिम आउन लागेको हो । १०० शैय्याको इवामुरा अस्पतालको व्यवस्थापन १५ वर्षसम्म नयाँ टिम सम्हाल्नेछ ।

नयाँ टिमले व्यवस्थापन लिएसँगै अस्पतालको नयाँ भवन निर्माणदेखि एमआरआई, सिटी स्क्यानलगायतका उपकरण भित्र्याउने प्रक्रिया पनि अगाडि बढाइएको छ । ‘नयाँ भवनलगायत विभिन्न विशेषज्ञ सेवाहरु एक्सपान्सन गर्न लागेका छौं,’ अस्पतालका नयाँ अध्यक्ष डा. श्रेष्ठले भन्नुभयो । ‘असार १ गते अस्पतालको व्यवस्थापन हामीलाई औपचारिक रुपमा ह्याण्डओभर हुन्छ,’ डा‍‍ श्रेष्ठले भन्नुभयो, ‘अस्पतालको पूरै व्यवस्थापन हाम्रो टिमले हेर्छ । कलेजको व्यवस्थापनमा भने पूरानै टिम हुनेछ ।’ इवामुराले नर्सिङ र पारामेडिक्सका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

अस्पतालका यसअघिका म्यानेजिङ डाइरेक्टर राजुमान जोशीले पनि अस्पतालको व्यवस्थापन परिवर्तन भएको पुष्टि गर्नुभयो ।  ‘अस्पताल नयाँ व्यवस्थापनले सञ्चालन गर्ने भएको छ,’ उहाँले भन्नुभयो । व्यवस्थापनमा डा. श्रेष्ठसँगै अन्य पाँच जना छन् । नयाँ व्यवस्थापन भित्रिएसँगै ‘डा. इवामुरा अस्पताल, मेरो सपनाको अस्पताल’ थिममा अस्पताल ब्राण्डिङ पनि सुरु गरिने भएको छ ।

अस्पतालको मेडिकल कोर्डिनेटरको जिम्मेवारी सर्जन डा. जितेन्द्र सिंहले सम्हाल्ने हुनुभएको छ। यस्तै, नयाँ व्यवस्थापनले अस्पतालमा सेवा र विभागहरुलाई बलियो बनाउने गृहकार्य सुरु गरिसकेको छ । अहिले लिभरका चिकित्सक डा. सुशील प्रजापति, काठमाडौं मोडलका जीआई सर्जन डा. उदय कोइराला, फिजिसियन डा. तास्मिन जमाल, बीएण्डबीका अर्थोपेडिक्स सर्जन डा. निरज शाह ठकुरी, प्रसुति तथा स्त्री रोगमा डा. अजला प्रजापति, रेडियोलोजिष्ट डा. विवेक कर्णलगायतका वरिष्ठ चिकित्सकहरुको फुलटाइम टिम बनाइएको छ ।

इवामुराले इनफर्टिलिटी सेवा पनि सुरु गरेको छ । जसमा डा. भावा श्रेष्ठ र डा. चुनुमिला महर्जनले फुलटाइम सेवा दिन सुरु गर्नुभएको छ। यस्तै, इवामुरामा वरिष्ठ न्युरो फिजिसियन डा. सर्वोत्तम श्रेष्ठले पनि सेवा दिनुहुनेछ । १ सय बढी कर्मचारी रहेको इवामुरा अस्पतालको आर्थिक विभाग मोहन वली र अन्य प्रशासनिक व्यवस्थापनमा श्याम श्रेष्ठ रहनु भएको छ । यसैगरी, राजेन्द्र श्रेष्ठ, सन्जय श्रेष्ठ, टासी सोनाम लामा पनि अस्पतालको व्यवस्थापन टिममा हुनुहुन्छ।

अस्पतालका नयाँ अध्यक्ष बन्नुभएका रेडियोलोजिष्ट डा. श्रेष्ठले १० वर्ष काठमाडौं मोडल अस्पतालमा सेवा दिनुभएको थियो । उहाँले २२ वर्ष भक्तपुरको गठ्ठाघरमै ‘एएमएस क्लिनिक’समेत सञ्चालन गरिरहनु भएको छ । ‘अहिले हामीले डाक्टर, नर्स र अन्य स्टाफहरुलाई तालिमसमेत दिइरहेका छौं,’ अध्यक्ष डा. श्रेष्ठले भन्नुभयो, ‘भक्तपुरकै अधिकांश चिकित्सकहरुलाई नै प्रमुख प्राथमिकता दिएर सेवा दिन थालेका छौं ।’ २५ वर्षअघि जापानी समाजसेवी डा। नोबुरु इवामुराले सम्झनामा अस्पतालमा स्थापना भएको हो । डा. इवामुराले जापानिज स्वयंसेवकका रुपमा नेपाल आएर टिबी रोग नियन्त्रणमा ठूलो योगदान गर्नुभएको थियो । उहाँकै सम्झनामा सन् १९९८ मा स्थापना भएको इवामुरा हस्पिटल सन् २००१ मा सञ्चालनमा आएको थियो । जसमा सन् २००५ मा स्थानीयलाई पनि सहभागी गराइएको थियो । हेल्थआवाज अनलाईन

Facebook Comments