Fri. Apr 19th, 2024

सेनाद्वारा विद्यालय भवन हस्तान्तरण   

कर्णाली, २०७९ जेठ २१ गते शनिबार । नेपाली सेनाले गुर्भाकोट नगरपालिका–१४ कृष्णनगरस्थित जन संयुक्त आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरेको छ । सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टरद्वारा निर्मित विद्यालय भवन शुक्रबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

सेनाको रु २८ लाख ९१ हजार तथा बाँकी रकम नगरपालिका लगायतले बेहोरेपछि चार कोठे भवन निर्माण भएको हो । विसं २०५२ मा स्थापना भएको विद्यालय कमजोर भौतिक पूर्वाधारकै कारण मर्ज हुने अवस्थामा पुगेको थियो । विद्यालयको कमजोर भौतिक अवस्था र शिक्षकले पारिश्रमिक नलिएरै पढाइरहेको विषयमा दुई वर्षअघि विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि सेनाले भवन निर्माणमा चासो दिएको हो । सेनाको पश्चिम कमाण्ड सेनापति उपरथी पे्रम शाहीले विकास निर्माणमा सेनाको सहयोगले नागरिक र सेनाबीचको सम्बन्धलाई फराकिलो हुने बताउनुभयो । उहाँले सेनाको सानो प्रयासले विद्यालयका कलिला बाल–बालिकाको मस्तिष्कमा नेपाली सेनाप्रति सकारात्मक सोच विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

सुरुमा एकतले भवन निर्माण गरेको सेनालाई स्थानीयले दोस्रो तला थपिदिन आग्रह गरेका थिए । भवन निर्माणमा कालीबक्स गणका इञ्जिनीयर र कालीगढ खटिएका थिए । गणबाट खटिएका ३५ विभिन्न दर्जाका प्राविधिकहरुले ११५ दिनमा भवन निर्माण सम्पन्न गरेका हुन् । निर्माण पूरा भएपछि पश्चिम कमाण्ड सेनापति शाहीले गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गर्नुभयो । नगरप्रमुख पुनले देशको सुरक्षा गर्ने जिम्मा लिएको सेनाले गरेको सामाजिक कार्यले जनतामा सकारात्मक सन्देश प्रवाह भएको धारणा राख्नुभयो । रासस

Facebook Comments