Fri. May 17th, 2024

सहरी विकास मन्त्रालयलाई रु ३७ अर्ब ७३ करोड बजेट   

काठमाण्डौं, २०७९ जेठ १६ गते सोमबार।  सरकारले सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि रु ३७ अर्ब ७३ करोड विनियोजन गरेको छ । आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थित सहरीकरण, नयाँ सहर विकास, नागरिकमैत्री सरकारी भवन, पुनःनिर्माणको बाँकी काम सम्पन्न गर्न सो रकम विनियोजन गर्नुभएको हो ।

मन्त्री शर्माले अतिविपन्न, दलित, लोपोन्मुख, सीमान्तकृत नागरिकको लागि किफायती र वातावरणमैत्री आवासको व्यवस्था तीन वर्षभित्र गरी नागरिकको सुरक्षित आवासको हकको प्रत्याभूति गरिने बताउनुभयो । सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट आधारभूत सुविधासहितका लागत प्रभावी घरहरू निर्माण गर्ने व्यवस्था गरिने भएको छ ।

आगामी आर्थिक वर्ष यस्ता एक लाख घरहरू निर्माण गर्ने कार्य अगाडि बढाइने भएको छ । ती घरहरू भूमिहीन एवं आवासविहीन डोम, चमार, मुसहर, दुसाधलगायत अतिविपन्न दलितलाई प्राथमिकता क्रममा हस्तान्तरण गरिने भएको छ । जनता आवास कार्यक्रमअन्तर्गत बाँकी काम प्रदेश सरकारमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

सहरको सुन्दरतालाई बिगार्ने गरी प्रयोग भएको तार, खम्बाहरूको व्यवस्थापन गर्न तथा सहरी पूर्वाधार निर्माणका क्रममा खन्ने र बन्ने अनि पुनः खन्ने प्रवृत्तिको अन्त्य गर्न सहरी क्षेत्रमा युटिलिटी करिडर निर्माण गर्दै लगिने मन्त्री शर्माले बताउनुभयो । नयाँ सहर विकासको आधार भन्ने नारालाई मूर्तरुप दिन पुष्पलाल मध्यपहाडी राजमार्गमा पर्ने दश नयाँ सहर आयोजना सम्पन्न गर्न रु तीन अर्ब १० करोड विनियोजन भएको छ ।

प्राकृतिक विपद्को समयमा उद्धार तथा राहतमा समेत उपयोग हुने गरी उपत्यकाका लैनचौर, बानेश्वर, मीनभवन र पुलचोकमा गरी चार स्थान तथा सात प्रदेशका घना बस्ती भएका १० ठूला सहरहरूमा उद्धार केन्द्रसहितको पार्क निर्माण गर्न आवश्यक बजेट विनियोजन भएको छ । काठमाडौँ उपत्यकाको ‘स्याटेलाइट’ सहरहरूको दीर्घकालीन विकासका लागि एकीकृत गुरूयोजना तयार गरिने भएको छ । उपत्यकाका पुराना र अव्यवस्थित बस्तीलाई हाउस पुलिङको नीति लिई नयाँ र व्यवस्थित सहरको रूपमा विकास गर्न अध्ययन तथा पूर्वतयारी गरिने बजेटमा उल्लेख छ । पुराना सांस्कृतिक सहर र सम्पदाको संरक्षण गर्न सहर पुनर्जीवन कार्यक्रम सञ्चालन गरिनेछ ।

सिन्धुलीको मरिण, बाराको निजगढ, तनहँुको देवघाट र पाल्पा जिल्लाको रामपुरलाई नेपाली मौलिक शैली र विशेषता झल्किने संरचनासहितको नयाँ सहरका रूपमा विकास गर्न अध्ययन गरिने मन्त्री शर्माले बताउनुभयो । ओलाङचुङगोला, किमाथाङ्का, उपल्लो मनाङ, लोमाङथाङ, डोल्पोबुद्ध, लिमी र हिल्सामा व्यवस्थित हिमाली सहर विकास गर्न अध्ययन गरिने उल्लेख छ ।

तराई मधेसका सीमामा अवस्थित सहरी क्षेत्रलाई आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न सीमा क्षेत्र सहरी विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । यस कार्यक्रमअन्तर्गत आगामी वर्ष सकन्दपुर, पृथ्वीनगर, ठाडी, कोइलावास, कण्ठपुर, बेलौरी, चाँदनी दोधारा, पञ्चेश्वर माडर, जलेश्वर, गौर, तौलिहवा र सत्तीमा पूर्वाधार विकासको कार्यका लागि रकम विनियोजन भएको छ ।

नवलपरासीपूर्व र रुकुमपूर्वमा सरकारी सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन एकीकृतरूपमा सरकारी कार्यालयहरूको भवन निर्माणको लागि आवश्यक बजेट विनियोजन भएको छ । नगर विकास कोषलाई सहरी पूर्वाधार विकास कम्पनीको रूपमा पुनःसंरचना गरी पूर्वाधार विकासमा वैकल्पिक पूँजी परिचालन गर्न सक्षम निकायका रूपमा स्थापना गरिने भएको छ ।

एकीकृतरूपमा सहरी पूर्वाधार निर्माण गर्न सघन सहरी विकास कार्यक्रमलाई थप ५१ वटा नगरपालिकामा विस्तार गरिने बजेटमा उल्लेख छ । सहरी नदी करिडोर कार्यक्रमअन्तर्गत विराटनगरको केसलिया र सिंघिया, हेटौँडाको कर्रा, चितवनको नारायणी, रुपन्देहीको तिनाउ दानव, पोखराको सेती र धनगढीको खुटिया नदीमा सहरी नदी करिडोरको अवधारणाअनुरुप तटबन्धन निर्माण र बस्ती संरक्षण कार्यक्रम सञ्चालन हुनेछ । वाग्मती नदी र धोबीखोलाको बहावलाई स्थिरीकरण तथा प्रशोधन गर्ने व्यवस्था मिलाइने बताइएको छ । टुकुचाबाट बूढानीलकण्ठसम्मको नदी सौन्दर्यीकरण गरिनेछ ।

भूकम्पपछिको पुनःनिर्माणतर्फ धरहराको बाँकी निर्माणकार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ । सिंहदरबारलगायत पुरातात्विक सम्पदाहरू, बाल मन्दिर भवन, केशरमहल तथा बबरमहलको प्रवलीकरण कार्य र स्वास्थ्य भवनहरूको पुनःनिर्माणकार्य सम्पन्न गर्ने गरी बजेट व्यवस्था गरिएको छ । भूकम्पपछिको पुनःनिर्माणतर्फ रु नौ अर्ब ४४ करोड विनियोजन भएको छ ।  रासस

Facebook Comments