Tue. May 7th, 2024

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी   

काठमाण्डौं, २०७९ जेठ १२ गते बिहीबार । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ । आजको बैठकमा जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले काठमाण्डौं, धरानलगायत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित्नु राजनीतिप्रतिको असन्तुष्टि भएको बताउँदै दलको समयमै चेत खुल्न जरुरी रहेको औँल्याउनुभयो ।

सांसद यादवले सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै कार्यक्रम हेर्दा लागु गर्न सकेका अवस्थामा नेपालको कायापलट हुने भए पनि नीति र कार्यक्रमको संयोजनको अभाव देखिएको उहाँले बताउनुभयो । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चुनाव निष्पक्ष नभएको आरोप लगाउँदै   विभिन्न क्षेत्रमा आफ्नै सांसदमाथि नै आक्रमण भएको दावी गर्नुभयो ।

आजको बैठकमा नीति तथा कार्यक्रमको संशोधनका लागि सूचना पेश गर्नुभएका विभिन्न दलका छ सांसदसहित प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाललगायत विभिन्न दलका सांसदले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभएको छ । छलफल शुक्रबार पनि जारी रहनेछ ।

प्रतिनिधिसभा बैठकको अन्तमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०७९’ र महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन २०७९’ पनि पेश गर्नुभएको थियो । बैठक भोलि शुक्रबार ११ बजे बस्ने गरी सकिएको छ । रासस

Facebook Comments