Fri. May 17th, 2024

नेपालले टिमोर र ओमानसंग मैत्रीपुर्ण खेल खेल्ने

काठमाण्डौं, २०७९ जेठ ११ गते बुधबार । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

कतार फुटबल फेडेरेसन (क्युएफए) ले बुधबार एसियन कपको छनोटको तयारीमा रहेको एसियाका सात टोलीबीच पाँचवटा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो । जस मध्य नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।

यसअघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपुर्ण खेल तालिका रहेपनि अन्तः प्रक्रिया नै अघि बढ्न नसक्दाँ मैत्रीपुर्ण खेल हुन नसक्ने भएको थियो ।

कतार एफएको अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग खेल्ने जनाएको छ ।

नेपाल र टिमोर लिस्टेबिचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे ग्रान्ड हामद स्टेडियममा हुनेछ । ओमानसँगको खेल सुहिम बिन हामद स्टेडियममा नेपाली समयअनुसार राति ९ः४५ बजे नै हुनेछ ।

कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटको तेस्रो चरण खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली (बुधबार) आज साझ ६ बजे कतार प्रस्थान गर्दैछन् ।

नेपाली टोलीले कतारमा करिब ९ दिन तयारी गर्ने छ र त्यसपछि जुन ४ मा कुवेत जाने छन् । नेपाली टोलीलाई मंगलबार साँझ अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको थियो ।

नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टोली घोषणा गरेपछि नवयुग श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिईएको छ ।

एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । दोस्रो खेलमा११ मा कुवेतको सामना गर्दा नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

नेपाली टोलीः

गोलकिपरः दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा

डिफेन्डरः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डरः आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी

फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ

Facebook Comments