Wed. Apr 24th, 2024

चिनिया नव वर्षको अवसरमा अरनिको समाजद्वारा भव्य कार्यक्रमको आयोजना

काठमाडौं, २०७६ माघ ७ गते मंगलबार

अरनिको समाजले चिनिया नव वर्ष तथा वसन्त उत्सव कार्यक्रम २०२० भव्य रुपमा सम्पन्न गरेको छ ।

गृहमन्त्री राम बहादुर थापा बादलको प्रमुख आतिथ्यतामा मंगलबार साँझ काठमाडौं लैनचौरस्थित लैनचौर ब्याङक्वेटमा सो कार्यक्रम सम्पन्न भएको हो ।

चिनिया नव वर्ष(मुसा वर्ष) को अवसरमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री राम बहादुर थापा बादलले चीन र नेपाल प्राकृतिक रुपले मात्र जोडिएका नभएर साँस्कृतिक र सामाजिक रुपमा पनि जोडिएको बताउनु भयो । “हाम्रो सम्बन्ध प्राचिनकालदेखि नै रहँदै आएको छ भने दिनप्रतिदिन सुदृढ बन्दै गएको छ । गतवर्ष सम्पन्न चिनिया राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको छ । चीनले नेपालको समृद्धि र राष्ट्रिय सुरक्षामा नेपाललाई सहयोग गर्दै आएको छ । म यो सहयोग र समर्थनको लागि चीन सरकार र चिनिया जनतालाई धन्यवाद दिन्छु ।” मन्त्री थापाले भन्नु भयो ।

नेपालले हाल लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पुरा गर्न नेपालको समृद्धि र विकासमा चिनिया जनता र सरकारले निरन्तर रुपमा सहयोग गर्दै आएकोमा मन्त्री वादलले धन्यवाद व्यक्त गर्नुभयो । वहाँले भन्नु भयो “मित्रहरुको पहिचान संकटको वेलामा हुने गर्छ । चीनले वि.सं.२०७२ सालको महाभूकम्पमा सवैभन्दा पहिला आएर सहयोग गरेको थियो ।” साथै वहाँले विगत ४ दशकदेखि निरन्तर रुपमा नेपाल चीन मैत्रीको विकासमा अरनिको समाजले निर्वाह गर्दै आएको भूमिकाको लागि धन्यवाद व्यक्त गर्नुभयो ।

चीनका विश्व विद्यालयहरुमा प्राप्त गरेको उच्च ज्ञानलाई अरनिको समाजले नेपाली जनताको हितमा प्रयोग गर्दै नेपालको समृद्धिमा योगदान पुर्याएकोमा समाजका सबै सदस्यहरुलाई गृहमन्त्री वादलले धन्यवाद समेत व्यक्त गर्नुभयो ।  साथै वहाँले आगामी दिनहरुमा पनि अरनिको समाजले नेपाली जनताको सेवामा काम गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । मन्त्री वादलले भन्नुभयो, “नेपालको समृद्धि र विकासमा निरन्तर सहयोग गरिरहने प्रतिवद्धताको लागि चिनिया राजदूत हौ यान्छीलाई विशेष धन्यवाद ज्ञापन गर्दछुु ।” मन्त्री बादलले चिनिया नव वर्ष वसन्त चाडको अवसरमा काठमाडौंस्थित चिनिया राजदूतावासका पदाधिकारीहरु, कार्यक्रममा उपस्थित चिनियाहरु लगायत सम्पूर्ण चिनिया जनताको समृद्धि र प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि चिनिया राजदूत हौ यान्छीले चिनिया नव वर्षको अवसरमा अरनिको समाजले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन पाएकोमा हर्षित भएको बताउनु भयो । राजदूत हौ यान्छीले छुन्चीए अर्थात चिनिया नव वर्ष वसन्त उत्सव चिनियाहरुको महत्वपूर्ण चाड भएको जानकारी दिनु भयो ।

चिनिया नव वर्ष अर्थात वसन्त उत्सव पुरानो वर्षलाई विदाई गर्दै नयाँ वर्षलाई स्वागत गर्ने तथा पारिवारीक मिलन, सामानजस्य र खुशीयाली साट्ने महत्वपूर्ण घडी भएको समेत जानकारी दिनुहुँदै वहाँले उपस्थित सबैलाई चिनिया नव वर्षको अवसरमा सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो ।

चीन र नेपालबीचको सम्बन्ध हजारौं वर्ष पुरानो रहेको बताउनु हुँदै राजदूत हौ यान्छीले स्वच्छ एवम् सर्वोच्च शिखर सगरमाथा नेपाल चीन मैत्रीको प्रतिक भएको बताउनु भयो । उहाँले भन्नुभयो “चीनमा अध्ययन गरि फर्किएका ६ हजार भन्दा बढी नेपाली यूवाहरु दुई देशबीचको शैक्षिक, साँस्कृतिक आदान प्रदानको एक उज्वल पक्ष हुन् ।”

राजदूत हौ यान्छीले भन्नु भयो “सन् २०१९ साल चीन नेपाल सम्बन्धमा ऐतिहासिक महत्वको वर्ष हो, राष्ट्रपति सी चिन्फिङ्ले गर्नुभएको नेपालको सफल राजकीय भ्रमणले नेपाल चीन सम्बन्धलाई नयाँ युगमा पुर्याएको छ । दुवै देश शैक्षिक र साँस्कृतिक क्षेत्रको साहकार्यलाई अझ विस्तार गर्ने समझदारीमा पुगेका छन् । चीनले प्रत्येक वर्ष नेपाललाई प्रदान गर्दै आएको १ सय भन्दा बढी सरकारी छात्रवृत्ति वाहेक अरु १ सय वटा कन्फ्युसियस इष्टिच्युट छात्रवृत्ति पनि प्रदान गर्नेछ । हामी जेहन्दार नेपाली युवाहरुलाई चिनिया विश्व विद्यालयहरुमा अध्ययन गरि चीन नेपाल मैत्री सम्बन्धमा टेवा पुर्याउनका लागि स्वागत गर्दछौं ।”

चिनिया राजदूतले नेपाल चीन मित्रतालाई उच्च मूल्यांकन गर्दै भन्नु भयोः“यो वर्ष चीन नेपाल दौत्य सम्बन्ध स्थापना भएको ६५औं वार्षिकोत्सव हो । साथै राष्ट्रपति सी चिन्फिङ्ले नेपाल भ्रमण गर्नु भएपछि भ्रमणपछिका उपलब्धिहरुलाई कार्यान्वयन गर्ने वर्ष पनि हो । नयाँ युगमा नयाँ कार्यहरु हुनु पर्दछ । चीनमा अध्ययन पूरा गरि फर्किनु भएका सम्पूर्ण नेपाली साथीहरुले चीन नेपाल सम्बन्ध विस्तारलाई सहयोग पुर्याउनु हुनेछ भन्ने आशा गरेकी छु । तपाईहरुले चिनिया राजदूतावाससँग सम्पर्र्क गर्नुहोला साथै आफ्नो दक्षताको प्रयोग गरि चीन नेपाल दुई देशबीचको जनताको राजदूत बनी चीन नेपाल मित्रतामा अमूल्य योगदान पुर्याउनु होला ।”

अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले चनिया नव वर्ष वसन्त उत्सवको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नु हुँदै सन् १९८१ मा स्थापित अरनिको समाजले विगत ३० वर्षदेखि चिनिया नव वर्ष मनाउदै आएको जानकारी दिनुभयो । कार्य व्यस्तताको कारण स्वदेश फर्कन नपाएका चिनियाहरुलाई चिनिया नव वर्षको अवसरमा निम्तो गरेर अरनिको समाजका सदस्यहरुबीच वसन्त चाड मनाउन थालिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले नेपाली सर्वसाधारण जनतालाई प्रत्यक्ष रुपमा राहत पुग्ने कार्यक्रमहरुको माध्यमबाट नेपाल चीन जनस्तरीय मैत्री सम्बन्धलाई प्रगाढ बनाउन क्रियाशिल भएको पनि बताउनु भयो । वहाँले अरनिको समाजले गर्दै आएका कार्यक्रमबारे जानकारी दिँदै भन्नु भयो, “अरनिको समाजले विभिन्न स्वास्थ्य शिविरहरु, प्राज्ञिक कार्यक्रमहरु, चिनिया साहित्य, चलचित्र तथा टिभि सिरियलहरुको नेपाली रुपान्तरण र प्रकाशन एवम् प्रसारण आदि गर्दै आएको छ । निकट भविष्यमा नै चिनिया लोकप्रिय सिरीयल बु्रसलीको ३० भागको धारावाहिक कार्यक्रम समेत प्रसारण गर्ने तयारी भैरहेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

अरनिको समाजका कार्यक्रमहरुमा चिनिया राजदुतावास, चीनका विभिन्न प्राज्ञिक निकाय तथा संस्थाहरु, चीन सरकार लगायतको महत्वपूर्ण सहयोग रहँदै आएको जानकारी दिनुहुँदै अध्यक्ष श्रेष्ठले त्यसको लागि सम्बन्धित सबैलाई धन्यावाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बोल्नु हुँदै अरनिको समाजका प्रथम उपाध्यक्ष डा. मनोजमान श्रेष्ठले अरनिको समाजले स्थापनाकालदेखि नै नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भयो । चिनिया नव वर्षको शुभकामना दिँनुहुँदै उपाध्यक्ष श्रेष्ठले नेपाली जनतालाई निःशुुल्क रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अरनिको समाजले देशका विभिन्न भागहरुमा स्वास्थ्य शिविरहरुको आयोजना गरिहेको बताउनु भयो । साथै वहाँले रसुवाको स्यापुु्रmबेँशी, जोमसोम, गोरखा र उपल्लो मुस्ताङ जस्ता विकट क्षेत्रमा समेत स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिनुभयो । उपाध्यक्ष श्रेष्ठले केही समय पछि नै गोरखा र मनाङमा स्वास्थ्य शिविर सञ्चालन गर्ने समेत बताउनु भयो ।

सो कार्यक्रममा विभिन्न कालाकारहरुले नेवारी, नेपाली तथा तामाङ नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमा नेपालस्थित चिनिया राजदूतावासका उच्च पदस्थ अधिकारीहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, सांसद, वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका नेताहरु, अरनिको समाजका सदस्यहरु तथा सर्वसाधारण नेपालीहरु र चिनियाहरुको उपस्थिती रहेको थियो ।


स्मरण रहोेस् चिनिया नयाँ वर्ष मुसा वर्ष यही जनवरी २५ देखि प्रारम्भ हुँदैछ ।

Facebook Comments