Wed. Dec 25th, 2024

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा, विभिन्न कार्यक्रममा सहभागी हुनुहुँदै

काठमाण्डौ, २०७९ जेठ २ गते सोमबार । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको एक दिने भ्रमणका क्रममा भगवान सिद्धार्थ गौतम बुद्धको जन्मभूमि लुम्बिनी पुग्नु भएको छ । प्रधानमन्त्री मोदी हेलिकप्टरबाट लुम्बिनी पुग्नु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा मोदी लुम्बिनी पुग्नु भएको हो ।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गर्नुभएको छ । आज २५६६ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको विशेष अवसर पारेर प्रधानमन्त्री मोदी लुम्बिनी पुग्नु भएको हो ।

लुम्बिनीमा रहँदा प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुहुने कार्यक्रम रहेको  छ । यसैगरी, विशेष कार्यक्रममा दुवै देशका प्रधानमन्त्री देउवा र मोदीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

भ्रमणमा प्रधानमन्त्री मोदीसहित भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनय मोहन क्वात्रा, स्पेसल प्रोटेक्सन फोर्सका डाइरेक्टर अरुन कुमार सिंह, सहसचिवहरु अरिन्दम बाक्ची, रुद्र गौरव श्रेष्ठ, अनुराग श्रीवास्तव, नेपालस्थित भारतीय दुतावासका नाम्ग्यल सि खम्पा, स्पेसल ड्युटी अफिसर हिरेन जोशी, प्रधानमन्त्रीका निजी सचिव विवेक कुमार र प्रधानमन्त्रीका डाइरेक्टर अभिषेक शुक्ल हुनुहुन्छ । प्रधानमन्त्री मोदी विभिन्न कार्यक्रमसहित छ घण्टा लुम्बिनीमा रहेर आजै अपरान्ह ४ बजे भारत फर्कनु हुने कार्यक्रम रहेको छ । गोरखापत्र अनलाईन

Facebook Comments