Sun. Sep 22nd, 2024

प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पनासमेत गर्न सकिँदैन : प्रवक्ता कार्की

काठमाण्डौ, २०७९ बैशाख २४ गते शनिबार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पनासमेत गर्न नसकिने बताउनुभएके छ ।

राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले भन्नुभयो, “संविधानले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको निमित्त, जुन परिकल्पना गरेको छ, त्यसलाई वर्तमान सरकारले रक्षा र प्रोत्साही गर्दै लैजाने छ ।”

पत्रकारिता क्षेत्रले मुलुकको परिवर्तन र जनताको चाहनाअनुसार मुलुकलाई सुशासन र कानुनी शासनका माध्यमद्वारा समृद्धिको दिशामा अग्रसर गर्नका निमित्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मन्त्री कार्कीको भनाइ छ ।

उहाँले भन्नुभयो, “स्वतन्त्र प्रेस र सरकार साथसाथै हिँड्न सकेन भने जनताको लोकतन्त्रप्रतिको चाहना र समृद्धिको चाहना पूरा हुन सक्दैन, त्यसैले निर्भिकताका साथ आफ्नो स्वतन्त्रतालाई मध्ये नजर गर्दै समाजलाई सुसूचित गर्नहोस्, सरकारलाई पहरेदारी गर्नुहोस्, सरकारलाई कानुनी शासन र सुशासनको बाटोमा हिँड्नका निमित्त तपाईहरुले आग्रह मात्रै होइन, बाध्य गराउने परिस्थितिको पनि सिर्जना गर्नुहोस्, धत्यसको वर्तमान सरकारले स्वागत गर्छ ।” सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई रक्षा मात्रै नभई सम्वद्र्धनसमेत गर्ने उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा पुरस्कृत व्यक्तित्व तारानाथ दाहालले संविधानको मर्मअनुरुप सम्बन्धित क्षेत्रको सुझावका आधारमा सञ्चारसम्बन्धी एकीकृत छाता ऐन जतिसक्दो चाँडो ल्याउन सरकारसँग आग्रह गर्नुभयो । महासङ्घका अध्यक्ष विपुल पोखरेलले राज्यले सञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि नियमनसँगै अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले ‘लोकतन्त्रको आधारशीला, व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने मूलनारासहित आज विभिन्न कार्यक्रम गरी सातौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइएको जानकारी दिनुभयो । नेपाल टेलिभिजन

Facebook Comments