Fri. Sep 20th, 2024

म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डौ, २०७९ बैशाख २० गते मंगलबार । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुभएको छ । उहाँले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्त्वपूर्ण रहेकाले काममा लगाउँदा शिष्ट व्यवहार गर्न आग्रह गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा भएको सुरक्षा निकायको बैठकमा सुरक्षा व्यवस्था चुस्त बनाउन समेत गृहमन्त्री खाणले सुरक्षा निकायलाई निर्देशन दिनुभयो । उहाँले स्थानीय तह निर्वाचनमा मतदाता, मतदान स्थलमा खटिएका कर्मचारी लगायत आम नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्नुहुँदै त्यसका लागि सबै तयार रहन निर्देशन दिनुभयो ।

गृहमन्त्री खाणले चार वटै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षालाई व्यवस्थित गरेर लैजान र मतदान स्थल, मतपेटिकाको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सुरक्षा निकायबाट सम्भावित जोखिम अध्ययन गरी अति संवेदनशील, संवेदनशील क्षेत्रको सुरक्षालाई विशेष ख्याल गर्न निर्देशन दिनुभएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी प्रदेश प्रमुख, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकृत एवं रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो । रेडियो नेपाल

Facebook Comments