Mon. Dec 23rd, 2024

अमेरिकी र नेपालीहरूबीचको सम्बन्ध पुस्तौँदेखि चल्दै आएको र चलिरहने अमेरिकी राजदूतको भनाइ

- नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा

काठमाण्डौ, २०७९ बैशाख १६ गते शुक्रबार । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको शुक्रबार ७५ वर्ष पूरा भएको छ । यस अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुभकामना सन्देश दिनुभएको छ ।

एक विज्ञप्तिमार्फत उहाँले भन्नुभएको छ, “अमेरिकी जनताले नेपालीलाई चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने, पर्वतारोहीका रूपमा लगभग असम्भव उचाइमा पुग्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक र बहादुरीका साथ सेवा गर्ने र कला र संस्कृतिको विशाल विविधतामार्फत विश्व सम्पदालाई समृद्ध बनाउने मानिसहरूका रूपमा चिन्दछन् ।” उहाँले अमेरिकी र नेपालीहरूबीचको सम्बन्ध पुस्तौँदेखि चल्दै आएको र चलिरहने बताउनुभएको छ ।

नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोग, यूएसएआईडीमार्फत औलो नियन्त्रण कार्यक्रममा सहयोग र महामारी सुरु भएयताका अमेरिकाले नेपाललाई झन्डै ३८ लाख कोभिड–१९ खोपका मात्रा र १२ करोड ४८ लाख डलरभन्दा बढीको कोभिड सहायता प्रदान गरेको छ ।

साथै, गत फागुनमा नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपाल कम्प्याक्ट सम्झौतालाई अनुमोदन गरेपछि नेपाल र अमेरिकासम्बन्धमा थप उचाइ बढेको छ । यस कम्प्याक्ट कार्यक्रमको प्रतिफलस्वरूप नेपालले ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणमा मद्दत पुग्ने र २ करोड ३० लाखभन्दा बढी नेपालीलाई सहयोग पुग्ने अपेक्षा छ ।

सन्देशमा नेपालको समृद्ध इतिहासको अमेरिकाले प्रशंसा गर्दै सांस्कृतिक संरक्षणका लागि राजदूत कोष नामक कार्यक्रमले झन्डै २० वर्षको अवधिमा नेपालमा २५ वटा सांस्कृतिक संरक्षण परियोजनालाई सहयोग गरी ३८ लाख डलरभन्दा बढी लगानी गरेको उल्लेख छ ।

Facebook Comments