Sun. May 19th, 2024

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा वाइडबडीको सफल अवतरण

काठमाण्डौ, २०७९ बैशाख १५ गते बिहीबार । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ।

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको यो विमानस्थलमा पहिलो पटक राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बिहीबार साँझ सफल अवतरण गरेको हो।

काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटनमन्त्री प्रेम आलेको नेतृत्वमा भएको परीक्षण उडानमा २६० जना यात्रु सहभागी थिए। जसमा प्राधिकरणका उच्च अधिकारी, निगमका कर्मचारी, उच्च सरकारी अधिकारी, एसियाली विकास बैंकका प्रतिनिधिलगायत थिए।

सञ्चारकर्मी, पर्यटन व्यवसायीसहित उडान भरेर आएको विमान काठमाडौंबाट भैरहवामा ५० मिनेटमै अवतरण गरेको थियो। विमानस्थलमा पहिलो पटक ठूलो विमानको अवतरण भएपछि पर्यटन व्यवसायी मात्रै होइन यस क्षेत्रका सर्वसाधारण समेत निकै उत्साहित भएका छन्।

 नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा निगमले हालै निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेको हो। प्राधिकरणले निगमसँग भएका दुईवटा वाइडबडी विमानलाई बिहीबारका लागि परीक्षण उडानका लागि अनुमति दिएको थियो।

यस उडानमा वाइडबडीका प्रशिक्षक पाइलट सुधीर तोमार र क्याप्टेन श्रवण रिजाल रहेको निगमले जनाएको छ। करिब १६ हजार फिट माथिबाट उडान भरेको वाइडबडी गौतम बुद्व विमानस्थलमा एक फन्को मारेर अवतरण गरेको हो। भैरहवामा अवतरण गरेसँगै यात्रुले खुसियाली व्यक्त गरेका थिए।

डान सकिएलगत्तै निगमले प्राधिकरणलाई प्रतिवेदन बुझाउनुपर्ने छ। यो उडानपछि भैरहवा व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडानका लागि खुला हुनेछ। भैरहवामा फागुनमा एरो थाईले यान्त्रिक परीक्षण उडान गरेपछि गत सातादेखि उक्त धावनमार्ग आन्तरिक वायुसेवाका लागि खुला भइसकेको छ।

अन्तर्राष्ट्रिय उडानको लागि समेत जेठ २ आउन अब १६/१७ दिनमात्रै बाँकी रहेकोले विमानस्थलभित्र पार्टेसन, फर्निचर व्यवस्थापन तथा अध्यागमन कार्यालयले समेत आवश्यक तयारीको काम गरिरहेको छ।

अन्तर्राष्ट्रिय उडानको लागि पहिलोपटक कुवेतको जजिरा एयरलायन्सले चासो दिएको थियो। सोही अनुसार जजिराले जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिइसकेको छ।

यस्तै, नेपाल वायुसेवा, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुवई, गल्फ एयर, गो एयर, एयरबीच र ओमन एयरले पनि चासो देखाएका छन्।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ। अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ।

कुल ४५ मिटर चौडाई र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने विश्वास लिइएको छ। गोरखापत्र अनलाईन

Facebook Comments