Sun. May 5th, 2024

अमेरिकाले युक्रेनमा ८० करोड डलर बराबरको थप सैन्य सहायता पठाउने

काठमाण्डौ, २०७९ बैशाख ९ गते शुक्रबार । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

बाइडनका अनुसार उक्त सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन्। उक्त सहायता “सीधा स्वतन्त्रताको अग्रपङ्क्तिमा” पठाइने बाइडनले बताउनु भएको छ । यद्यपि उक्त सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने युक्रेनी उपरक्षामन्त्रीले चेतावनी दिनुभएको छ ।

ट्याङ्क भेदी ज्याभेलिन अस्त्रहरूको सन्दर्भमा बोल्दै यसै साता बाइडनले “कहिलेकाहीँ हामी नरम बोल्छौँ तर ठूलो भाला (ज्याभेलिन) बोक्छौँ किनकि हामीले तीमध्ये धेरैलाई (युक्रेनमा) पठाउँदैछौ” भन्नु भएको थियो ।

युद्ध सुरु भएयता युक्रेनी फौजले ज्याभेलिन अस्त्रको प्रयोग गरेर कैयन् रुसी ट्याङ्क ध्वस्त पारेका विवरण आएका थिए। गत फेब्रुअरी २४ मा रुसी हमला भएयता तीन अर्ब डलर भन्दा बढीको सैन्य सहायता युक्रेन पठाइ सकिएको छ। बीबीसी

Facebook Comments