Fri. Sep 20th, 2024

युक्रेनको अर्थतन्त्र आधाले घट्ने विश्व ब्याङ्कको प्रक्षेपण

- रुसी आक्रमणको असर

काठमाण्डौं, २०७८ चैत २८ गते सोमबार । युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र करिब ४५ प्रतिशतले सङ्कुचित हुने विश्व ब्याङ्कले प्रक्षेपण गरेको छ।

त्यहाँ शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसहरूलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि उसले बताएको छ। विश्व ब्याङ्कले युक्रेनलाई एक अर्ब डलरको सहयोग दिइसकेको छ भने आगामी महिनाहरूमा थप २ अर्ब डलर दिने बताएको छ।

बीबीसीका संवाददात जोनाथन जोसेफ भन्नुहुन्छ, “युक्रेनको अधिकांश काम गर्ने समूहका मानिस या त लड्न या त भाग्न बाध्य भएका छन्। व्यापार बन्द छन्। सडक, कारखाना अनि अन्य पूर्वाधार ध्वस्त भएका छन्। वर्षौँको प्रगति शून्यमा झरेका छन्।”

युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्ने गर्थ्यो जुन अहिले ठप्प भएको छ। त्यसले विश्वभरिनै खाद्यान्नको मूल्यवृद्धि हुने बताइएको छ। अभूतपूर्व स्तरमा अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरू लगाइएका कारण रुसको अर्थतन्त्र ११ प्रतिशतले खुम्चने विश्व ब्याङ्कले बताएको छ। साथै बेलारुस, किर्गिज्स्तान, मोल्दोभा, र ताजिकिस्तानमा पनि आर्थिक मन्दी आउने उसले प्रक्षेपण गरेको छ।

यसबीच युक्रेनको सेनाले भनेको छ- उत्तर पूर्वी खार्किभ क्षेत्रमा भएको रुसी गोलाबारीका कारण बालबालिकासहित १० जनाको ज्यान गएको छ।

मस्कोले उक्त क्षेत्रमा आक्रमण तेज पारिरहेको छ। खार्किभस्थित सैन्य प्रशासनका प्रमुखले जनाए अनुसार सबभन्दा चर्को भिडन्त इजियम नगर वरपर भइहेको छ। भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा रुसी सैन्य गाडीहरू त्यहाँ तैनाथ गरिएका देखिन्छन्। अमेरिकी संस्था इन्स्टिच्युट अफ वारका अनुसार रुसी फौजले दक्षिणी मारिउपोल शहरमा सफलता पाउँदै गरेको छ। बीबीसी

Facebook Comments