समय
- भवानी न्यौपाने भावना
भवानी न्यौपाने भावना
रुवाउँदै हसाउँदै छरेर प्रेम के भयो?
समाउँदै त खोजियो सुटुक्क खै कता गयो?
दिवा प्रभात रातका अनन्त रूप भेटिए
स्वरुप खै कसो गरि कहाँ कहाँ समेटिए ?
दगुर्छ मात्र बेसरी नरोकिने कहीँकतै
कदापि रोकिए यहाँ अनर्थ भो जताततै
यसैसँगै हिड्यो भने पुगिन्छ लक्षमा स्वत:
अगाडि बढ्छ जिन्दगी भएर साधनारत।।
न अन्त्य हुन्छ कालको न चाहिँ हुन्छ यो सुरु
छ प्रष्ट कालरूप के ल भन्दिनुस् छिटो गुरु
पलापलाहरू सबै महत्वपूर्ण छन् यहाँ
निमेषकै पला नहोस् निरर्थकै छ लौ कहाँ ?
सकिन्न काल चक्र यो सकिन्न नाघ्न बार यो
लुकेर बस्छ काल यो र जिन्दगी छ भार यो
वसन्तको बहार यो रमाउँदै फिरी रहोस्
निरीह रात प्रातले सँधै समाउँदै रहोस् ।।
लिएर साथ कालको हिडे यहाँ वसुन्धरा
सुकेर निख्रियो अहो!पुनः फुले नि आँकुरा
चिरेर अन्धकार यो हिडोस् सदैव काल यो
नदेखिएर जादु नै गर्यो अचम्म चाल यो।।