Tue. May 21st, 2024

सिमानामा भारतीय अतिक्रमण तत्काल रोक्नुपर्छ : प्रेम सुवाल

काठमाण्डौं, २०७८ फागुन २९ गते आईतबार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दार्चुलामा महाकाली नदीको बहाव भारतले नेपालतर्फ फर्काइरहेको भएपनि सरकार नबोलेको बताउनुभएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद प्रेम सुवालले दार्चुलामा महाकाली नदीको बहाव भारतले नेपालतर्फ फर्काइरहेको भएपनि सरकार नबोलेको भन्दै नेपालको सिमानामा भारतीय पक्षको अतिक्रमण तत्काल रोक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो -‘दार्चुलामा महाकालीको बहाव भारतले नेपालतर्फ फर्काउँदै छ । तर सरकार मौन बनेर समाचार प्रकाशित भइरहेको छ । यथार्थ यो भइरहेको पनि हो । यस्तो बेला सरकार किन बोल्दैनन् ? भारत नेपालको भुमि गाभेर नक्सा बनाएपछि नेपालले पनि त्यो नक्शालाई च्यातेर आफ्नो भुमि आफ्नै भुमिमा गाभेर नयाँ नक्सा तयार ग¥यो । तर कालापानीमा भारतिय सेना यथावत छ । र नेपाली भुमि लिपुलेकमा भारतले सडक निर्माण गर्दैछ । दार्चुलामा महाकाली नदी पाँच मिटर अतिक्रमण गरेर भारतले नौ मिटर उचाइको पाँच किलोमिटर लामो तटबन्ध बनाउँदै छ । यसले आउने वर्षमा नेपालको जनधन क्षति हुने भयो । स्थानीय जनता नेपाली भुमि सुरक्षा गर्न संघर्ष गर्दैछन् । स्थानीय प्रशासन, गृह प्रशासन, परराष्ट्र मन्त्रालय के गर्दैछन् ?

अन्तर्राष्ट्रिय कानुन विपरित भारतले नेपालको सिमानामा भइरहेको थिचोमिचो र गरिरहेको थिचोमिचो, अतिक्रमण तत्काल रोक्न जरुरी छ । प्रधानमन्त्रीमार्फत् दार्चुलामा के भइरहेको छ ? नेपालको सिमाना सुरक्षित भएको छ कि छैन ? त्यसबारे सदनमा जानकारी गराउनु आवश्यक छ ।’

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा(एमाले)ले अवरोध कायमै राखेको छ । इमेज खवर

Facebook Comments