Fri. Jan 10th, 2025

रुसी सेना किएभको भित्री भागतर्फ लम्किँदै गर्दा बाहिरी भागमा रुसी आक्रमण सघन बन्दै

काठमाण्डौं, २०७८ फागुन २८ गते शनिबार । युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शनिवार सबेरै निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भएका खबर बीबीसी युक्रेनले स्थानीय अधिकारीलाई उल्लेख गर्दै लेखेको छ।

जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन द्वन्द्वमा तत्काल युद्धविरामका लागि सहमति जनाउन आग्रह गर्नुभएको छ ।

युक्रेनमा जारी युद्ध रोक्ने अन्तर्राष्ट्रिय पहलको क्रममा उहाँहरुबीच शनिवार ७५ मिनेट लामो टेलिफोन वार्ता भएको सोल्जका प्रवक्ताले बताएका छन्। यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले युद्धविराम नभएसम्म रुससँग कुनै पनि छलफल अघि बढ्न नसक्ने बताउनु भएको छ । पत्रकार सम्मेलनमा उहाँले १,३०० युक्रेनी फौजको मृत्यु भएको जानकारी दिनुभयो। तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

यसैबीच युक्रेनले फेरि पनि रुसीहरूले दक्षिणी बन्दरगाह शहर मारिओपोलबाट मानिसहरूको उद्धार रोकेको आरोप लगाएको छ। मानिसहरू कठ्याङ्ग्रिँदो चिसोमा बिजुलीबिना थोरै खाना र पानीको सहारामा रहेका बताइएको छ। रुसले मानिसहरूलाई सुरक्षित युद्ध क्षेत्रबाट बाहिरिने निकास मार्ग युक्रेनले अस्वीकार गरेको आरोप लगाएको छ। बीबीसी

Facebook Comments