Mon. Dec 23rd, 2024

आज अन्तर्राष्ट्रिय नारी दिवसः राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाण्डौं, २०७८ फागुन २४ गते मंगलबार । आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको छ । आज नेपालमा पनि विविध कार्यक्रम हुँदैछन् ।

यसै अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । शुभकामना सन्देशमा उहाँले परम्पराकै नाममा अद्यपि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै सन्देशमा उहाँले नेपाली जनताको दशकौँ लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा प्राप्त उपलब्धी विश्व महिला आन्दोलनका लागि प्रेरक मानिएका सन्देशमा उल्लेख गर्नुभएको छ ।

“महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानूनसमेत अभ्यासमा ल्याएका छौँ । फलतः मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ । पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले हाम्रा प्रयासहरू परिणाममुखी हुने चरणमा छन् भन्न सकिन्छ । यसबाट नेपाली महिलाहरूको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ,” राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता स् दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको तथा त्यसको अभिप्राय महिलाहरूको आर्थिक, सामाजिक तथा संरचनात्मक रूपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनु हो भन्ने आफूलाई लागेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्नुहुने तथा जीवन समर्पण गर्नुहुने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरणसमेत गर्नुभएको छ ।

नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ । प्रधानमन्त्री देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको उल्लेख गर्नुभएको छ ।

“नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ । राज्यका सबै निकायमा महिलाहरूको समानुपातिक समावेशितालाई सुनिश्चित गरेको छ । महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ,” उहाँले उल्लेख गर्नुभएको छ ।

महिला सशक्तीकरण हामी सबैको साझा सरोकारको विषय भएकाले तीनवटै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक रहेको उल्लेख गर्दै उहाँले देशको मूल कानूनले गरेका समस्त व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न हामी सबै प्रतिबद्ध हुन आवश्यक रहेकामा जोड दिनुभएको छ ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । साथै उहाँले महिलाको समान अधिकार स्थापित गर्दै सम्मानित जीवनको सुनिश्चितताका लागि जीवन उत्सर्ग गर्नुहुने सबैप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज जारी गर्नुभएको सन्देशमा सभामुखले आजको दिनलाई समानता, अधिकार र महिला हिंसाविरुद्धको अभियानका रूपमा मनाइरहँदा प्राप्त अधिकारहरु कार्यान्वयनको प्रत्याभूति एवं विभेद अन्त्यका लागि जुट्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

Facebook Comments