Wed. Dec 25th, 2024

प्रेस काउन्सिलद्वारा २२ वटा अनलाइनलाई सचेत:१६ वटा युट्युबलाई कारबाहीको सिफारिस

काठमाण्डौं, २०७८ फागुन २० गते शुक्रबार । पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जाल (युट्युब) बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकषर्ण भएको छ । आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ वटा अनलाइन मिडियालाई सचेत गराइएको छ ।

दर्ता र सूचीकरण नभएका १० वटा वेबपोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको काउन्सिलले आज एक विज्ञप्ति मार्फत जनाएको छ । कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा  युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरिएको छ ।

अनुगमनका क्रममा विभिन्न सञ्चार माध्यम, वेबपोर्टल र सामाजिक सञ्जाल (खासगरी युट्युब) समेतबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरि नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष-विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको विज्ञप्तिमा उल्लेख छ ।‘

यसैबिच अनलाइन टिभी, सामाजिक सञ्जाल (विशेषगरी युट्युुब च्यानल)हरूमा सम्प्रैष्ति सामग्रीबारे प्रेस काउन्सिल नेपालमा उजुरी र गुनासाहरू बढिरहेका सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निमित्त सुझाव दिनका लागि एक कार्यदल गठन भइ कार्य भइरहेको विज्ञप्तिमार्फत् जनाइएको छ ।

Facebook Comments