Tue. Dec 24th, 2024

आजको संसद् बैठक बस्दै नबसी स्थगित भए पनि एमसीसी विरुद्ध दिनभरी नै प्रदर्शन

काठमाण्डौं, २०७८ फागुन १२ गते बिहीबार । प्रतिनिधि सभाको आज (बिहीवार) बस्ने भनिएको बैठक स्थगित भएको छ । आजको बैठक बस्दै नबसी स्थगित भएको संसद् सचिवालयले जनाएको छ । अब अर्को बैठक भोलि (शुक्रवार) दिउँसो १ बजेका लागि बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

संसद बैठक स्थगित भए पनि आज दिनभरी नै अमेरिकी विकास सहयोग परियोजना (एमसीसी) को विरोधमा काठमाण्डौंमा प्रदर्शन भएको छ। नेपाली कांग्रेस विपी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न दलका भातृ संगठनले एमसीसीको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्।

आन्दोलनले उग्र रुप लिएपछि प्रधानमन्त्रीको आग्रहमा संसद बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको बताईएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा एमसीसीको प्रस्ताव भने समेटिएको छ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग सहमति गर्न भोलिसम्मको समय मागेपछि सभामुख अग्नि सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नु भएको हो ।

आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

Facebook Comments