Sun. May 19th, 2024

संयुक्त राज्य अमेरिका र बेलायतद्वारा रुसमाथि प्रतिबन्ध

Photo: Xinhua

काठमाण्डौं, २०७८ फागुन ११ गते बुधबार । विद्रोही नियन्त्रित युक्रेनका दुईवटा क्षेत्रलाई स्वतन्त्र भएको मान्यता दिएपछि संयुक्त राज्य अमेरिका, यूके र तिनीहरूका अरू साझेदारले रुसमाथि प्रतिबन्ध लगाएका छन्।

यद्यपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमले पश्चिमा देशहरूले तयारी गरे अनुरूप पूर्ण रूपमा प्रतिबन्ध लगाउने अवस्था चाहिँ सिर्जना गरिसकेको छैन।

प्रतिबन्ध भनेको एउटा देशले अर्कोलाई दिने एउटा सजाय हो जुन प्रायः कुनै देशको आक्रामक कदमलाई रोक्न अथवा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्ने कार्यविरुद्ध हुने गर्छ।

प्रतिबन्ध प्रायः कुनै देशको अर्थतन्त्रमा अथवा अग्रणी राजनीतिज्ञ जस्ताको व्यक्तिगत सम्पत्तिमा असर पुर्‍याउन लगाउने गरिन्छ। त्यसमा यात्रा तथा अस्त्रहरूको किनबेचमाथि प्रतिबन्ध पर्न सक्छ। युरोपेली सङ्घ ईयूले ब्याङ्कहरूसहित संस्था र व्यक्ति गरी २७ माथि प्रतिबन्ध लगाइरहेको छ।

उसले युरोपेली पुँजी बजारमा पहुँचलाई सीमित बनाउने र ईयू तथा विद्रोही नियन्त्रित दुई क्षेत्रबीच व्यापारमा प्रतिबन्ध पनि लगाउँदैछ। रुसी संसद्‌को तल्लो सदन डुमाका सबै ३५१ सदस्यलाई नाकाबन्दीले निशाना बनाउँदैछ।

अमेरिकाले विद्रोही नियन्त्रित युक्रेनका लुह्यान्सक र डोनेट्स्क क्षेत्रसँग व्यापार गर्न अमेरिकीहरूलाई प्रतिबन्ध लगाएको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पाँचवटा रुसी ब्याङ्क र रुसका तीनजना सम्पन्न व्यापारीमाथि प्रतिबन्ध घोषणा गर्नुभएको छ ।

जर्मन चान्सलर ओलाफ शोल्ट्सले नोर्ड स्ट्रीम २ पाइपलाइन भएर रुसबाट जर्मनी आउने ग्यास रोक्न आदेश दिनुभएको छ । बीबीसी

Facebook Comments