Fri. Apr 19th, 2024

मनाङ र मच्छिन्द्रका छ खेलाडीमाथि एन्फाको कारबाही

काठमाडौं, २०७६ पुष २४ गते बिहीबार

अखिल नेपाल फुटबल संघ(एन्फा)ले डिभिजन लिगमा खेल मैदानमै झगडामा उत्रिएका छ खेलाडीलाई कारबाही गरेको छ । सहिद स्मारक ए डिभिजन लिग अन्तगर्त मनाङ् मस्र्याङ्दी क्लब र मच्छिन्द्र युवा क्लबबीचको खेल सम्पन्न लगत्तै दुबै टोलीका खेलाडी दुई दिन अघि मैदानमै झगडामा उत्रिएका थिए ।

एन्फाको अनुशासन समितिको बैठकबाट विवादमा उत्रिएका छ खेलाडीमाथि कारबाही गरिएको जनाएको छ । गोरखापत्र अनलाईनका अनुसार मनाङ्का मिडफिल्डर जगजित श्रेष्ठ र गोलरक्षक अशोक बराललाई कारबाही स्वरुप पाँच खेलको लागि प्रतिबन्ध लगाइएको छ । श्रेष्ठलाई दश हजार रुपियाँ जरिवाना समेत तोकिएको छ । बरालले उक्त खेलमै रातो कार्ड पाएकोमा पहिलो खेलमा सहभागी हुन बञ्चित रहेकोले बञ्चित भएको खेलपछि लागू हुने गरी पाँच खेलका लागि प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ । बरालमाथि समेत दश हजार रुपियाँ जरिवाना तोकिएको छ ।

मनाङ्कै फरवार्ड रञ्जन विष्टमाथि दुई खेलको लागि प्रतिबन्ध लगाइएको छ । मच्छिन्द्रका दिपक राइ, देवेन्द्र तामाङ र विजय धिमालमाथि दुई दुई खेलमा प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ । त्यसैगरी, मनाङ्का किट्स ब्यवस्थापक शिव लामामाथि लिगको बाँकी खेलका लागि प्रतिबन्धसँगै दश हजार रुपियाँ जरिवाना तोकिएको छ । टिम बेञ्चमा अनुशासन कायम राख्न नसकेको भन्दै अनुशासन समितिले मनाङ् र मच्छिन्द्र दुबै टोलीमाथि पचास पचास हजार रुपियाँ जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ ।

Facebook Comments