Fri. Apr 26th, 2024

राष्ट्रपति सी चिनफिङलाई मैत्री संघद्वारा भव्य स्वागत

काठमाडौ, २६ असोज । नेपाल चीन वाणिज्य मैत्री संघले स्वागतद्वार बनाएर राष्ट्रपति सि चिनफिङलाई स्वागत गरेको छ । नेपालको दुई दिने राजकीय भ्रमणमा शनिवार काठमाडौं आईपुग्नु भएका चीनका राष्ट्रपति सिलाई नेपाल चीन वाणिज्य मैत्री संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठको नेतृत्वमा मैत्री संस्थाका पदाधिकारी तथा सदस्यहरु, स्थानीय जनता, राजनीतिक दलका नेता तथा कार्यकर्ता, समाजसेवी, वुद्धिजिवी, पत्रकार, राष्ट्रसेवक कर्मचारी लगायत झण्डै दुई सय जनाले काठमाडौं विजुलीबजार पुलमा दुवै देशका रंगीचंगी राष्ट्रिय झण्डा फरफराउँदै भव्य स्वागत गरेका हुन ।

राष्ट्रपति सि को स्वागतमा नेपाल चीन वाणिज्य मैत्री संघले फ्रेन्डसिप फोरम फर नेपाली जर्नालिस्टको समन्वयमा विजुली बजारस्थित मुख्य सडकमा तीनवटा भव्य स्वागतद्वारको निर्माण गरेको थियो । “जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि चिनफिङलाई हार्दिक स्वागत छ । नेपाल चीन मित्रता विशाल, गहन र अटल । नेपाल चीन मित्रता अमर रहोस् ।” जस्ता उद्गार लेखिएको स्वागतद्वारलाई दुवै देशका राष्ट्रपतिहरुको तस्विरले अझ सुन्दर बनाएको थियो । त्यसैगरि स्वागतद्वारको शिखरमा राखिएका सगरमाथा, टेम्पल अफ हिभन र ग्रेटवालको सुन्दर तस्विरले सवैको ध्यान खिचेको थियो । स्वागत स्थलमा सहभागीहरुले चिनिया भाषामा ज्गबलथष्लन ज्गबलथष्लन अर्थात स्वागतम् स्वागतम् भनि दुवै देशका झण्डा फरफराएको देखेर चिनिया विशिष्ट पाहुनाहरुले पनि अभिवादन गरेको दृश्य अरु लोभ लाग्दो र भावनात्मक देखिन्थ्यो । सो स्थानमा खटिएका सुरक्षाकर्मीहरु समेत स्वागत स्थलमा देखिएको उत्साह र सहभागीहरुको अनुशासनबाट प्रभावित भएका थिए ।

संघका अध्यक्ष श्रेष्ठले छिमेकी देशका राष्ट्रपतिलाई यसरी स्वागत गर्न पाउँदा आफूहरु निकै खुसी भएको बताउनुभयो । उहाँले यो भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयाम थपिएको पनि बताउनुभयो । २३ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपति तहमा राजकीय भ्रमण भएको भन्दै उहाँले यसलाई ठूलो अवसरका रुपमा र देश बनाउने नयाँ आयामका रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

Facebook Comments