Mon. Dec 23rd, 2024

आज ७२औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै

काठमाण्डौं, २०७८ फागुन ७ गते शनिबार । आज ७२औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा मनाइँदैछ । जहानिया राणा शासनको विरुद्ध विभिन्न समयमा गरिएका राजनीतिक आन्दोलनहरु पश्चात बि.सं.२००७ साल फागुन ७ गते उक्त शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

 यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ ।

यस अवसरमा विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसरमा अन्य सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ दीपावली पनि गरिनेछ । प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी हुन सफल भएको थियो ।

Facebook Comments