सशस्त्र प्रहरीबाट कुटिए विद्युत् प्राधिकरणका कर्मचारी
काठमाडौं, २०७६ पुष २३ गते बुधबार
नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीमाथि प्रहरीले कुटपिट गरेको छ । मादक पदार्थ सेवन गरेका प्रहरीको कुटपिटबाट २ कर्मचारी घाइते भएका छन् ।
मूलपानीको लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किंदै गरेका प्राधिकरणका २ कर्मचारीमाथि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) प्रवीण राई र हवल्दार छवीन्द्र राईले कुटपिट गरेको जोरपाटी वितरण केन्द्र, मूलपानी नोलाइट केन्द्रका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । कुटिनेमा प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्का हुनुहुन्छ । अलाईन खवरका अनुसार कुटपिटबाट खत्री र खड्का घाइते हुँनुभएको छ । घाइते खत्रीको हातको बूढीऔंला भाँचिएको छ भने सुवास खड्काको मुखमा चोट लागेको छ । घाइते दुवैको अहिले अर्थोपेडिक हस्पिटलमा राखेर उपचार भइरहेको प्राधिकरण जोरपाटी वितरण केन्द्र, मूलपानी नोलाइट केन्द्रका प्रमुख पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार मर्मतको काम सकेर प्राधिकरणकै गाडीबाट फर्किंदै गर्दा गाडी रोकेर मदिराले मात्तिएका सशस्त्रका २ प्रहरीले आक्रमण गरेका थिए ।‘मर्मतको काम सकेर उहाँहरू फर्कंदै गर्दा कसरी गाडी चलाएको भन्दै निर्घात कुटपिट भयो’, पौडेलले अनलाइनखबरसँग भन्नुभयो ।
उहाँका अनुसार, प्रवीण र छवीन्द्रलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्न सहायक प्रहरी निरीक्षक प्रवीण र हवल्दार छवीन्द्र सशस्त्र प्रहरी कार्यदल दरबन्दी भई गृहमन्त्रालयमा कार्यरत हुन् ।