Mon. Dec 23rd, 2024

एमसीसी जबरजस्ती पारित गर्न खोजे सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

काठमाण्डौं, २०७८ फागुन ४ गते बुधबार । जबरजस्ती एमसीसी पारित गर्न खोजे सरकारबाट बाहिरिने माओवादी संसदीय दलले निर्णय गरेको छ । बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निष्कर्ष निकालेको हो ।

सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिँदै आएपनि यस विषयमा गठबन्धनभित्र छलफल र सहमति नजुटेका कारण संशोधन र परिमार्जन नगरि अगाडि बढाउन नसकिने माओवादी केन्द्रका सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

सहमति नजुटे त्यसको विपक्षमा मतदान गर्ने र संशोधन वा परिमार्जन नगरी अगाडि बढाउन नसकिने उहाँले बताउनु भयो । ‘संसद सुचारु नगरी कुनै पनि एजेण्डा अगाडि बढ्दैन, गुरुङले भन्नुभयो ।’

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले आज बस्न लागेको संसदको बैठकमा एमसीसी टेबल हुने विश्वास व्यक्त गर्नु भएको छ । तर, गठबन्धनमा रहँदै आएको माओवादी केन्द्रले यस विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निर्णय गरेको छ ।

बैठकलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जानुभएको छ ।

यसैबीच विभिन्न राजनीतिक पार्टी तथा तिनका भातृ संगठनहरुले आज दिउसो बस्ने संसद बैठकलाई लक्षित गर्दै संघीय संसद घेराबन्दी बनाउने कार्यक्रम तय गरेका छन् ।

Facebook Comments