Tue. Dec 24th, 2024

एमसीसी सम्झौताको विरोधमा आज नेपाल बन्द, काठमाण्डौं उपत्यकामा कडा सुरक्षा

काठमाण्डौं, २०७८ फागुन ४ गते बुधबार । एमसीसी सम्झौताको विरोधमा आज नेपाल बन्दको घोषणा गरिएको छ । एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिष्ट पार्टी र एउटा मोर्चाले नेपाल बन्दको घोषणा गरेका हुन् । आजको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको घोषणा गरेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन् ।

मङ्गलबार अपराह्न संयुक्त जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “MCC कम्प्याक्टले नेपाली राष्ट्रिय स्वाधिनताको आन्दोलनमा सर्वाधिक रुपमा निम्त्याउने अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध नेपाली जनताले कठोर संघर्ष गर्दै आईरहेको छ । जसको परिणाम MCC कम्प्याक्टलाई संसदबाट पारित गराउने विगतका दलाल सरकार र वर्तमान देउवा सरकारको रणनीतिक योजना सफल हुन सकेको थिएन । बरु सरकारी गठबन्धन र संसदवादी दल भित्रै नेपाली जनताको MCC कम्प्याक्ट विरोधि संघर्षले पैदा गरेका अन्तर्विरोध एव अवरोधहरुको सामना गर्नु परेको थियो । नेपाली जनताको MCC कम्प्याक्ट बिरोधी संघर्ष र शेरबहादुर देउवा सरकार लगायत अमेरिकी साम्राज्यवादका दलाल एवम् MCC कम्प्याक्टका पिछलग्गुहरुबीच पेचिलो संघर्षको मोर्चाको क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दवाव एवम् धम्की र देउवा सरकार लगायत राष्ट्रघाति एंव जनघाती दलालहरुको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद वैठकमा MCC कम्प्याक्ट सदनमा टेबुल गर्नेर पारित गर्ने अन्तिम प्रपञ्च गरी राखेका छन्‌ । उपरोक्त राष्ट्रघाती षडयन्त्र राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गरी राखेका देशभक्त नेपाली जनतालाई सह्य छैन । MCC कम्प्याक्टलाई खारेज गर्ने सशक्त र उच्च तहको संघर्षको कार्यक्रम अनिवार्य बन्न पुगेको छ ।

हाम्रो राष्ट्रिय स्वाधिनता माथि खतरा निम्त्याउने MCC कम्प्याक्टका विरुद्द उच्च तहको जुझारु एवम् प्रभावकारी संघर्ष कार्यक्रमबाट देउवा सरकार र नेपाली दलालहरुको फागुन ४ गते संसदमा MCC कम्प्याक्ट पेस गर्ने र पारित गर्ने षडयन्त्रलाई परास्त गर्नु हामी संघर्षरत ५ कम्युनिष्ट पार्टी र १ मोर्चाक्रो आफ्नो कर्तव्य र राष्ट्रिय स्वाधिनताको आन्दोलनको ऐतिहासिक आवश्यकता ठानेका छौं । बिषयको यहि गाम्भिर्यतालाई दृष्टिगत गरि फागुन १ गते घोषणा गरिएको देशव्यापी विरोध प्रदर्शन र सभा कार्यक्रमलाई गुणात्मक रुपमा विकास गरि तपशिल बमोजिम सार्वजनिक गरेका छौं ।

घोषित कार्यक्रमलाई भव्यरुपमा सफल पारी देउवा सरकारको MCC कम्प्याक्ट पारित गराउने गुरुयोजनालाई नेस्तनामुद पार्न देशका कम्युनिष्ट क्रान्तिकारी, सच्चा लोकतन्त्रवादीहरु देशभक्त शक्तिहरु मजदुर किसान मध्यम वर्ग राष्ट्रिय उद्यमी, व्यवसायी, विद्यार्थी, बुद्धिजिवी, शिक्षक, व्यापारी, कर्मचारी, सुरक्षा क्षेत्र, साहित्यकार, कलाकार, पत्रकार लगायत सम्पूर्ण राष्ट्रप्रेमी नेपाली जनतामा हार्दिक आव्हान गर्दछौ । ”

यसैबीच नेपाल बन्दलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरहरुमा सुरक्षा व्यवस्था कडा गरिएको छ । सडक र चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौताको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेकाले सडकमा सुरक्षाकर्मीको परिचालन बढाइएको गृहमन्त्रालयले जनाएको छ ।  प्रहरीकाअनुसार यतिबेला सामान्य तरिकाले गाडी गुडिरहेका छन् । तर, लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् ।

प्रहरीले ढुक्क भए गाडी चलाउन आग्रह समेत गरेको छ । सरकारले कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले सूचना निकालेर देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखि शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको हो ।

Facebook Comments