Thu. May 2nd, 2024

वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको निधन

काठमाण्डौं, २०७८ फागुन ३ गते मंगलबार । झर्रोवादी साहित्यिक आन्दोलनका अग्रज, नेपाली नियात्रा साहित्य लेखनका मानक, वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ ।

ताना शर्माका नामबाट लोकप्रिय तारानाथ शर्माको आज विहान बत्तिसपुतलीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । इलाम जिल्लाको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट अध्ययन सुरु गर्नुभएका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गर्नुभएको झर्रोवादी आन्दोलन नेपाली साहित्यको आन्दोलनमा आज पनि मानक बनेर उभिएको छ।

तारानाथ शर्माले नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेख्नुभएको छ ।  डा. शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि वि.सं. २०२६ सालमा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ सालमा साझा पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो ।

शर्माको माध्यमिक तह पाठ्यक्रममा रहेको ‘घनघस्याको उकालो काट्ता’ निबन्धले उहाँको नियात्रा लेखनको अनौपचारिक र रोचक शैलीलाई चिनाउन सुरु गरेको हो ।

डा. शर्मा लामो समयदेखि डिमेन्सिया (विस्मृति) रोगबाट ग्रसित मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आइरहनु भएको थियो ।

उहाँ पाठ्यपुस्तक लेखक पनि हुनुहुन्थ्यो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो । शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

वरिष्ठ साहित्यकार डा.तारानाथ शर्माप्रति हार्दिक श्रद्धाञ्जली ।

Facebook Comments