Thu. Dec 26th, 2024

एमसीसीमा राष्ट्रिय सहमति खाेज्ने प्रयास भइरहेकाे छ : मन्त्री शर्मा

काठमाण्डौं, २०७८ माघ २७ गते बिहीबार । अर्थ मन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको बताउनुभएको छ ।

आज बिहीवार अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एमसीसी परियोजनाको सम्बन्धमा राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताउनुभएको हो ।

उज्यालो अनलाईनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति निर्माण गर्नका लागि प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘एमसीसीको कुरा एउटा परियोजनाको हिसाबले ऊर्जा क्षेत्रमा, सडक क्षेत्रमा कार्यान्वयन गर्ने भन्ने यहाँहरूलाई थाहा छँदैछ । तर यो मुद्दा अलि राजनीतिकृत भएर राजनीतिक पार्टीहरूको बीचमा अहिले छलफल भइराखेको छ । सरकारले यसलाई एउटा निष्कर्षतिर लैजानुपर्छ भनेर राजनीतिक पार्टीहरूको बीचमा राष्ट्रिय सहमति निर्माण गर्ने कुरातिर नै अगाडि बढिरहेको छ ।’

उहाँले एमसीसी परियोजनामा राष्ट्रिय सहमति खोज्न गरेको प्रधानमन्त्रीको प्रयासले निष्कर्ष निस्किनेमा विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments