Tue. May 7th, 2024

इलामको सुकिलुम्वा विमानस्थलमा परीक्षण उडान सफल

काठमाण्डौं, २०७८ माघ २६ गते बुधबार । इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बुधबार सफल परीक्षण उडान गरिएको छ । विमानस्थलको धावनमार्ग कालोपत्रे निमार्णको काम सम्पन्न भएपछि नेपाल बायुसेवा निगमको विमानले परीक्षण उडान गरेको हो । बिहान ९ः०७ मा उडेको 9N-AB विमान १०ः०४ बजे इलाम सदरमुकामको सुकिलुम्बा विमास्थलमा अवतरण गरेको थियो । पेम्बा शेर्पा र रसित मल्ल सहितको चालक दलले विमान इलाममा सफल अवतरण गरेको हो ।

इलाम नगरपालिका-९ मा निर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल भएसँगै व्यावसायिक उडान हुने भएको हो। ८५७ मिटर उचाईमा रहेको यो विमानस्थल इलामकै पहिलो हो। ६७० मिटर लम्बाई र २० मिटर चौडाई रहेको यस विमानस्थलमा एकतर्फी मात्र धावनमार्ग रहेको छ। तर एकै पटक दुई वटा जहाज अवतरण गर्न सक्ने क्षमता रहेको छ।
काठमाडौंबाट सुकिलुम्वा अवतरण गर्न एउटा जहाजलाई एक घण्टा समय लाग्ने नेपाल एयरल्यान्सको अपरेसन प्रमुख वरिष्ठ पाइलट दीपु ग्वार्चनले बताउनुभयो।
यसअघि २०७५ जेठ २१ गते पनि परीक्षण उडान सम्पन्न भएको विमानस्थलमा कालोपत्रे सम्पन्न भएपछि बुधबार पुनः उडान भएको हो। नागरिक उडड्यन प्राधिकरणले विमानस्थलमा फागुन ८ गतेदेखि व्यावसायिक उडान गर्ने तयारी थालेको छ।
लोकल सन्देश अनलाईनका अनुसार यो विमानस्थलको आउँदो फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यो विमानस्थलबाट आउँदो फागुन ८ देखि इलाम-काठमाडौं नियमित उडान-अवतरण गरिँदैछ । इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिकलगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ्चालन गर्न लागेको हो । नगरपालिकाले तारा एयर प्रालिसँग उडानका लागि सम्झौता गरेको मेयर महेश बस्नेतले जानकारी दिनुभयो ।
अब ३ महिना प्रत्येक आइतबार इलाम-काठमाडौं उडान-अवतरण हुने जनाइएको छ । तारा एयरको १६ यात्रुु क्षमताको जहाज यहाँबाट चल्नेछ । इलाम-काठमाडौं एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार यात्रु भएकामा बाहेक ११/११ जनाको आते-जाते भाडा इलाम नगरले नै तिर्नेछ ।

गत चैत अन्तिम साता नै विमानस्थल उडान-अवतरणका लागि तयार भएपनि उडान-अवतरण सुरु गर्नेबेला कोरोनाको महामारी रहेकाले एक वर्षपछि सुरु हुन लागेको हो । विमानस्थल निर्माणमा स्थानीयस्तरको करिब ४ करोड रुपैयाँ लगानी गरिएको नगरले जनाएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकोले विमानस्थलका लागि उपयुक्त भएको बताइएको छ । यो बिमानस्थलले पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जि्लिलङ, सिक्किम लगायतका बासिन्दाका लागि सहज हुने ठानिएको छ ।

Facebook Comments