Tue. Apr 30th, 2024

पुर्खाको पराक्रमलाई ताजा राख्न एकीकरण पदयात्रा

काठमाडौं, २०७६ पुष २२ गते मंगलबार

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म यात्रा गरेको मार्गलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा परिचित गराउन तामझामका साथ सुरु भएको पैदल यात्रा काठमाडौं आइपुगेको छ ।

गोरखा जिल्लाको गोरखा दरबारबाट पुस १८ गते सुरु भएको पैदल यात्रा धादिङ, नुवाकोट जिल्लाका विभिन्न भाग हुँदै काठमाडौंको नागार्जुन आइपुगेको हो । गोरखापत्र अनलाईनका अनुसार नेपाली सेनाको टोलीले गोरखामा बालेको टर्च लाइट, राष्ट्रिय झण्डा, पाँच पुराना पल्टनका झण्डासहितको पैदलयात्रा बाजागाजा र नाचगानसहित अगाडि बढेको छ ।

गोरखाको रणसिंह दलगणले धादिङ जिल्लासम्म ल्याएर देवीदत्तगणलाई टर्चलाइटसहितका सामग्री हस्तान्तरण गरेको थियो । त्यस क्रममा गोरखा दरबार-धादिङको कटुन्जे, नुवाकोटको भर्याङ भुरुङ, टक्सार, सामरी भन्ज्याङ, देउडी, खिन्चेत, गेर्खुटार, केउरिनी चौतरा, महामण्डल डाँडा (कालिका मालिका कालुपाण्डेले हमला गरेको स्थान), नुवाकोट दरबार, शेराबेसी रानीदरबार, रानी पौवा–ककनी डाँडा हुँदै पाँचमाने-मुड्खुबाट नागार्जुनसम्मको पैदल मार्ग पूरा गरिएको छ ।

ककनीमा आयोजित कार्यक्रममा देवीघाटबाट पैदल यात्रामा रहेको जबरजंग गणका सहसेनानी सरोज खड्काले बालाजु काठमाडौंबाट गएको शमशेर गणका प्रमुख गणपति प्रमुख सेनानी महेश्वर कार्कीलाई टर्चलाइट हस्तान्तरण गर्नुभयो । स्थानीय जनप्रतिनिधि, विद्यार्थीसहितको कार्यक्रममा पृथ्वीनारायण शाहले पु¥याएको योगदानको चर्चा गरियो । पदयात्रामा निस्किएको टोलीमा पृथ्वीनारायण शाहकालीन पोशाक लगाएका सेनाहरू पनि सहभागी छन् ।
वीर गोरखाली फौजका नामले विश्वमा चिनिएको नेपालको वीरताको गाथालाई उजागर गर्न, पदमार्ग, कोट, गणी र किल्लाहरु सम्बद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम रहेको जानकारी प्रमुख सेनानी कार्कीले दिनुभयो । उहाँले नेपाली सेनाले पुर्खाले गरेको पराक्रमलाई नयाँ पुस्तालाई ताजा बनाइराख्न एकीकरण पदमार्ग सुरु गरिएको बताउनुभयो ।

यात्राकै क्रममा काउलेथान क्षेत्रमा भेटिनुभएका भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री रामवीर मानन्धरले मंगलबार शुभकामना दिनुहुँदै नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सुरु भएको यस पैदलयात्राले नेपालको शान्ति र वीरताको गाथालाई विश्वमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पृथ्वीनारायण शाहले एकीकरण गर्नु पूर्व हालको नेपाल बाइसी, चौबिसी राज्यका अतिरिक्त ५० भन्दा राज्यमा विभाजित थियो । उर्लंदो र उन्मत्त अंग्रेजको साम्राज्य विस्तारको अभियानलाई रोकेर पृथ्वीनारायण शाहको नेतृत्वमा वर्तमान नेपालको निर्माण भएको हो । त्यति बेला अंग्रेजहरूले भूगोलको विस्तार गर्ने मात्र होइन, धार्मिक, सांस्कृतिक र भाषिक साम्राज्य विस्तार गर्ने नीति पनि अबलम्बन गरेको पाइन्छ ।

‘नेपाल सबै जातको फूलबारी हो’ भन्ने पृथ्वीनारायण शाहको दिव्य दिव्योपदेशबाट यो एकीकरणले सबै जातजाती, सबै धर्म र संस्कृतिका जनताको सहअस्तित्वालई स्वीकार गरेको पाइन्छ । एकीकरणपछि काठमाडौं उपत्यकामा प्रचलित नेवारी र पूर्वको विजयपुर सेन राज्यमा किराँत धर्म र संस्कृतिलाई नखल्बल्याउनु भनी दिएका शाहका भनाइबाट नेपाल राज्यलाई एकताको सूत्रमा बाँधिन सहयोग पुगेको पाइन्छ ।

नुवाकोटको पल्टनले बुझाएको टर्चलाइट र राष्ट्रिय झण्डासहितको टोली नागार्जुन आइपुगेको छ । त्यसले सिंहदरबारमा रहेको चण्डी दललाई हस्तान्तरण गर्ने र पृथ्वी जयन्तीको दिन पुस २७ गते राजधानीमा हुने कार्यक्रममा समावेश गरिने छ ।

Facebook Comments