Sat. Mar 14th, 2026

पशुपति धर्मशाला बतास समूहलाई दिने सम्झौता खारेज गर्न छानबिन समितिको सिफारिस

       

काठमाण्डौं, २०७८ माघ ३ गते सोमबार । पशुपतिमा धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ ।

धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री प्रेम आलेको प्रस्तावमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले गठन गरेको छानबिन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको हो ।

छानबिन समितिका संयोजक तथा कोषका कोषाध्यक्ष नारायण सुवेदीले संस्कृति मन्त्रालयका सचिव तथा परिषद्का सदस्य महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाउनुभएको हो । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोषाध्यक्ष सुवेदीले विभिन्न कारण देखाएर सम्झौता खारेज गर्न समितिले सिफारिस गरेको बताउनुभयो ।

छानबिन समितिको प्रतिवेदनले पनि अधिकार प्राप्त निकायको स्वीकृति विना सम्झौता गरेको, बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का गरेकाले मिलोमतो भएको हुनसक्ने देखिएको, सम्झौता विपरीत बेड सङ्ख्या, दररेट राखेर धर्मशाला सञ्चालन गरिएको, स्वीकृति विना संरचनाहरू थप गरिएको, धर्मशालाभित्र विभिन्न कार्यालयहरू राखेको, समयमै भाडा नबुझाएको लगायतका कारण देखाएर सम्झौता रद्द गर्न भनेको हो ।

धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह) लाई भाडामा दिएको थियो । नेपाल भारत मैत्री धर्मशाला भारत सरकारको ४० करोड रुपैयाँको लागतमा निर्माण भएको हो । उज्यालो अनलाईन

Facebook Comments

सम्बन्धित समाचार