Sat. May 11th, 2024

पक्राउ परेका चिनियाँ नागरिकको राहादानी रद्द

काठमाडौं, २०७६ पुष २१ गते सोमबार।

चिनियाँ दूतावासले १ सय २२ चिनियाँको राहदानी रद्द गर्ने भएको छ। प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरू काठमाडौंबाट पक्राउ परेका थिए। उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारी दूतावासले गरेको हो।

‘व्यक्ति छन्, राहदानी छैन। राहदानी छ, व्यक्ति फरार छन्’, एक प्रहरी अधिकारीले अन्नपूर्णसँग भने। प्रहरीका अनुसार ९६ जनाको राहदानी छैन। बाँकी २६ जनाको राहदानी प्रहरीसँग छ। राहदानी हराए दूतावासले नयाँ उपलब्ध गराउँदै आएको थियो। राहदानीबेगर पक्राउ परेकालाई ट्राभल डकुमेन्टका आधारमा चीन फर्काउने तयारी छ। त्यसका लागि दूतावासले प्रहरीसँग समन्वय गरिरहेको छ। ट्राभल डकुमेन्टमा भिसा नियमित गरी पक्राउ परेका सबैलाई बुधबार चीन फर्काइनेछ।

अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार बुधबार बिहान र बेलुका दुई सिफ्टमा चीनबाट दुईवटा जहाज काठमाडौं आउनेछन्। चीन सरकारले काठमाडौंमा पक्राउ परेका आफ्ना नागरिकलाई बुधबार (८ जनवरी) दुईवटा चार्टर विमानबाट फिर्ता लैजाने भएको हो। त्यसका लागि चीनले चाइना साउदन र चाइना वेस्टर्न नामका दुई विमान नेपाल पठाउन लागेको छ। एउटामा ८० र अर्काेमा ४२ जना लगिने भएको छ। ती जहाज अवतरण गराउन दूतावासले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ।

प्रहरीले हिरासतमा रहेका चिनियाँको कागजपत्र बुझाएपछि अध्यागमन विभागले निष्काशन प्रक्रिया थाल्नेछ। विभागका महानिर्देशक ईश्वरराज पौडेलले पक्राउ परेका शंकास्पद सबै चिनियाँलाई निष्काशन गरिने बताउनु भयो। ‘उनीहरू सबैले व्यापारिक र पर्यटक भिसा दुरुपयोग गरेका छन्। सोहीबमोजिम कारबाही गरी निष्काशन गर्छौं’, महानिर्देशक पौडेलले अन्नपूर्णसँग भन्नुभयो, ‘पक्राउ परेकामध्ये एक जनासँग मात्रै व्यापारिक भिसा छ। बाँकी सबैको पर्यटक भिसा छ।

ईजी ३८९३५०३ नम्बरको चिनियाँ राहदानीवाहक हु चेङगुईले व्यापारिक भिसा लिएका हुन्। चेङगुईले ली चाओ नामको आईटी कम्पनी खोल्न व्यापारिक भिसा लिएको पाइएको छ। यो कम्पनीका नामबाट व्यापारिक भिसा लिएका अन्य चिनियाँ फरार छन्।

उनीहरूलाई फिर्ता लैजाने तयारीस्वरूप चीनको पब्लिक सेक्युरिटी मन्त्रालयअन्तर्गतको अपराध अनुसन्धान विभागका उपनिर्देशक बाङ हुवा नेपालमा हुुनुहुन्छ। उहाँले गृह मन्त्रालय, अध्यागमन विभाग र प्रहरीसँग समन्वय गरिरहनु भएको छ। गैरकानुनी ढंगले नेपाल बसेका चिनियाँविरुद्धको विशेष अप्रेसनका लागि उपनिर्देशक बाङ नेतृत्वको चिनियाँ टोली नेपाल आएको हो। कम्बोडिया, फिलिपिन्स, लाओसलगायत पूर्वी एसियाली मुलुकमा अवैध चिनियाँविरुद्ध अप्रेसन थालिएपछि त्यहाँबाट हजारौं चिनियाँ नेपाल प्रवेश गरेका थिए।

चीन सरकारको सूचनाका आधारमा नेपाल प्रहरीले पुस ७ मा १ सय २२ चिनियाँलाई पक्राउ गरेको थियो। यसअघि सात चिनियाँ पक्राउ परेका थिए। उनीहरूको भिसा म्याद गुज्रिएको थियो। अध्यामगनले भिसा नियमित नगर्नेलाई विलम्ब शुल्क लिएर भिसा नियमित गरी निष्काशन गर्छ। भिसा भएका चिनियाँलाई कसरी निष्काशन गर्ने भन्नेबारे गृह मन्त्रालय परामर्शमा छ। निश्चित समयसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने गरी निष्काशन गर्नेबारे छलफल भइरहेको जनाइएको छ।

पहिलो चरणमा झन्डै १ हजार चिनियाँ पक्राउ गर्ने चीन सरकारको योजना सूचना चुहिएका कारण पूरा हुन सकेन। चिनियाँ पक्ष अप्रेसन पूरा नहुँदै सूचना चुहिएकोप्रति गम्भीर बनेको छ। केहीलाई पक्राउ गर्नेबित्तिकै सूचना चुहिएपछि काठमाडौं, पोखरा, चितवनलगायत स्थानमा शंकास्पद ढंगले बसेका हजारौं चिनियाँ भागेको भन्दै चिनियाँ पक्षले असन्तुष्टि जनाएको छ।

साइबर अपराधमा संलग्न १ सय २२ चिनियाँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही १ हजार रुपैयाँ जरिवाना गरेको छ। प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले आइतबार उनीहरूको कसुरका आधारमा जरिवाना तोकेको हो।

Facebook Comments