Sun. Dec 22nd, 2024

अध्यक्ष प्रचण्डको दस्ताबेज अपुरो भएको भन्दै न्यौपानेद्वारा फरक मत प्रस्तुत

काठमाण्डौं, २०७८ पुस १६ गते शुक्रबार । काठमाण्डौंमा जारी नेकपा (माओवादी केन्द्र)को ८ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको वैचारिक राजनीतिक दस्ताबेजमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राख्नुभएको छ ।

प्रतिवेदनमाथिको समूहगत छलफलका क्रममा नेता न्यौपानेले दस्ताबेज अपूर्ण रहेको भन्दै १० बुँदे फरक मत राख्नुभएको हो । समूहगत छलफलको निष्कर्ष राख्दै उपत्यका विशेष प्रदेशका नेता जगत सिंखडाले बन्दसत्रको हललाई उक्त जानकारी गराउनुभएको हो । नेता न्यौपानेले राजनीतिक दस्ताबेजले विचार, दृष्टिकोण र दिशा समात्न नसकेको, नेपाली समाजको अन्तर्विरोध, वर्ग सम्बन्ध र सङ्घर्ष, उत्पादन प्रणाली, उत्पादनको साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे ठोस विश्लेषण गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

उहाँले पार्टीमा कार्यशैलीगत समस्या देखिएको, नैतिकताको र आचरणको अभाव, सामन्ती र बुर्जुवा चिन्तन पद्धति हाबी रहेको भन्दै उहाँले पार्टी तीव्र रूपमा दक्षिणपन्थी दिशामा अगाडि बढिरहेकाले त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने फरक मतमा राख्नुभएको छ ।

शान्ति प्रक्रियामा आएपछि तीन पटक पार्टीले सरकारको नेतृत्व गरेको, पटक पटक पार्टी सरकारमा सहभागी भएको, एउटै पात्र पट्कौँ मन्त्री बनेको भए पनि जनताले अनुभूत हुने गरी गुणात्मक काम हुन नसकेको भन्दै नेता न्यौपानेले पार्टीका तर्फबाट सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न र कारबाही गर्ने आँट गर्न माग गर्नुभएको छ ।

फरक मतमा नेता न्यौपानेले एमालेसँगको एकता सबै कोणबाट सही थियो भन्ने विषय सही नभएको, एमालेसँग चुनावी तालमेल, कार्यगत एकता सही भए पनि ‘छापामार शैली’मा पार्टी एकता गर्नु सैद्धान्तिक र प्रक्रियागत रूपमा गलत भएको टिप्पणी गर्नुभएको छ ।

Facebook Comments