Thu. Dec 26th, 2024

नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय अधिवेशन काठमाण्डौंमा सुरु

काठमाण्डौं, २०७८ पुस ११ गते आईतबार । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ८ औं राष्ट्रिय अधिवेशन आजदेखि काठमाण्डौंमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले महाधिवेशनले लिने निर्णयले देशको राजनीतिलाई नयाँ दिशा दिने बताउनुभयो ।

‘हामी शान्ति प्रक्रियमा आएपछि कहाँकहाँ चुक्यौँ, विचार, संरचनाको क्षेत्रमा रणनीतिक कुरामा कहाँ कहाँ चुक्यौँ । यो प्रस्तावमा सबैभन्दा बढी आत्मसमीक्षा मैले मेरो गरेको छु’, प्रचण्डले भन्नुभयो, ‘जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर मलाई जुट्यो । शान्ति प्रक्रिया, संविधान निर्माणको अवसर मलाई नै मिल्यो । माओवादी कमजोर हुनुमा मैले अरुलाई आरोपित गरेर हुँदैन । मैले आफैंलाई चिरफार गरेको छु ।’

अध्यक्ष प्रचण्डले दलहरू बिच सहकार्य र एकता कायम गरी राष्ट्रिय राजनीतिका सबै समस्याहरूको समाधान खोज्न महाधिवेशनले महत्त्वपूर्ण दिशानिर्देश गर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले नेकपा एमाले र माओवादीबिचको एकताबाट गठन भएको नेपाल कम्युनिस्ट पार्टी जोगाउन नसक्नु ठूलो कमजोरी भएको बताउँदै सबै पक्षले यसको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।

उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन संविधानको कार्यान्वयनका लागि बनेको हुनाले पुरा समय कायम रहने बताउनुभयो । प्रधानमन्त्री देउवाले दलहरूबिचको सहकार्य र एकताबाट संविधान बनेको हुनाले यसको कार्यान्वयनका लागि पनि दलहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले राजनैतिक स्थायित्वका लागि संसद्ले पुरा समय काम गरोस् भन्ने लक्ष्यका गठबन्धन बनेको हुनाले यो कुनै राजनैतिक दलविरुद्ध नभएको समेत स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाति भएको सुनेको भन्दै सबैलाई पढ्न अनुरोध गर्नुभएको छ । आफू देशको प्रधानमन्त्री भएकाले राष्ट्रको खिलापमा जाउला र भन्ने प्रश्न गर्दै उहाँले एमसीसी सम्झौता पढ्न सुझाव दिनुभएको हो । ‘म राष्ट्रको प्रधानमन्त्री हुँ, म राष्ट्रको खिलापमा जाउला र ?’, उहाँले भन्नुभयो, ‘ एक पटक एमसीसी पढ्नुहोस् ।’

प्रधानमन्त्री देउवाले गणतन्त्रात्मक संविधान बन्नुमा प्रचण्डको योगदान स्वीकार गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘यो संविधान बनाउने काममा पुष्पकमल दाहालको महत्वपूर्ण योगदान रहेको कुरा हामीले स्वीकार गर्नुपर्छ’, देउवाले भन्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै प्रकारका सामाजिक विभेदको अन्त्य गरी समुन्नत र समतामूलक समाज निर्माणमा राजनैतिक दलहरू केन्द्रित हुनुपर्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले सबै प्रकारका तानाशाही चिन्तनको अन्त्य गरी विधिको शासन स्थापित नभएसम्म जनताले परिवर्तनको महसुस गर्न नसक्ने नसक्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले सबै प्रकारका तानाशाही चिन्तनको अन्त्य गरी विधिको शासन स्थापित नभएसम्म जनताले परिवर्तनको महसुस गर्न नसक्ने नसक्ने बताउनुभयो ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनैतिक दलहरूबिच वैचारिक मतभेदहरू रहे पनि राष्ट्रियता, देशको सामाजिक आर्थिक रूपान्तरण, परराष्ट्र नीति जस्ता मुद्दामा एकता र सहकार्य हुनुपर्ने बताउनुभयो । नेकपा विघटनका सन्दर्भमा पोख्रेलले भन्नुभयो, नेकपा गठन ऐतिहासिक आवश्यकता थियो । हामीले एकताका लागि गरेका प्रयासहरु ईमान्दरीसाथ गरिएका थिए ।

महाधिवेशन स्थलमा जनयुद्धको स्मरण गर्ने तस्बिर लगायतका सामग्री प्रदर्शन गरिएको छ । यस्तै कलाकारले माओवादीको ८ औं  महाधिवेशनका सन्दर्भमा तयार पारिएको गीत समेत प्रस्तुत गरेका छन् ।

महाधिवेशनमा देशभरबाट एक हजार ६३१ जना प्रतिनिधिको सहभागिता छ । यस अघि नेकपा (माओवादी केन्द्र)को आज बसेको केन्द्रीय कमिटी बैठकले अधिवेशन पछि पार्टीमा १५ सदस्यीय केन्द्रीय पदाधिकारी र दुई सय ९९ सदस्यीय केन्द्रीय समिति रहने निर्णय गरेको छ ।

माओवादी केन्द्रले बहु पदीय व्यवस्थामा जाने गरी पारित गरेको विधानअनुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

यसअघि शुक्रवार बसेको स्थायी कमिटी बैठकको सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन समेत गरेको छ । माओवादी केन्द्रले माओको १२९ औँ जन्म जयन्तीको अवसर पारेर आजदेखि तय गरेको राष्ट्रिय महाधिवेशन पुस १५ सम्मका लागि तय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान एक विज्ञप्ति जारी गर्दै नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ८ औं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिनुभएको छ ।

Facebook Comments