Sat. Sep 28th, 2024

दोलखाको लाँकुरीडाँडास्थित डाङडुङेमा फिल्म सिटी निर्माण सुरु हुने

काठमाण्डौं, २०७८ पुस ८ गते बिहीबार । दोलखाको भीमेश्वर नगरपालिका-९ लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यसमेत रहेको डाङडुङेमा प्रस्तावित अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) निर्माण सुरु हुने भएको छ ।

बागमती प्रदेश सरकारले फिल्म सिटीमा चासो देखाएर बजेट विनियोजन गरेसँगै निर्माण हुने भएको हो । प्रदेशले निर्माण सुरु गर्न स्थानीय तह भीमेश्वरमा बजेट पठाएपछि निर्माण अघि बढेको नगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिनुभयो ।

चलचित्र नगरी निर्माणका लागि विनियोजन भएको बजेट गत दुई आर्थिक वर्षदेखि बजेट ‘फ्रिज’ हुँदै आएको थियो । चलचित्र नगरीका लागि प्रदेश सरकारबाट साढे तीन करोड र नगरले ६८ लाख रुपियाँ थप गरी चार करोड १८ लाख रुपियाँ लागतमा निर्माण गर्नेगरी बोलपत्र आह्वान गरिएकोमा सानु सुवाल, साङदोर्जे जेभीले दुई करोड ६५ लाख ८२ हजार रुपियाँमा निर्माणको सम्झौता गरिसकेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत खड्काले यसबाट प्रवेशद्वार, तालिम कक्षसहितको सूचना केन्द्र र दुईवटा अतिथि गृह निर्माण हुने बताउनुभयो ।

फिल्म सिटीका परिकल्पनाकार एवं अभियन्ता वरिष्ठ कलाकार मदनदास श्रेष्ठले निर्माणमा ढिलाइ भएको गुनासो गर्दै भन्नुभयो, “सरकारले १२ करोड ४५ लाख रुपियाँको लागतमा फिल्म सिटी क्षेत्रमा साढे छ किलोमिटर लामो दुई लेनको सडक, फुट ट्रेल, नालासहितको पूर्वाधार निर्माण तथा एक करोडको लागतमा पानी तथा बिजुलीको समेत व्यवस्था गरिसकेको छ ।”

गोरखापत्र अनलाईनका अनुसार करिब पाँच अर्बको लागतमा चलचित्र नगरी (फिल्म सिटी) निर्माण हुने गुरुयोजना तयार भएको जानकारी दिँदै अभियन्ता श्रेष्ठले भन्नुभयो, “समुद्र सतहदेखि तीन हजार चार सय मिटरको उचाइमा अवस्थित डाङडुङेडाँडामा ७६ दशमलव २५ हेक्टर क्षेत्रफलमा फिल्म सिटी निर्माण हुने भएको हो । पहिलो चरणमा करिब २५ करोड रुपियाँमा प्रशासनिक भवन निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ ।”

फिल्मको चाप र सङ्ख्याअनुसारको संरचना थप्दै जाने हो भने अन्तिमसम्म करिब १५ अर्ब रुपियाँ खर्च लाग्ने गुरुयोजनाले देखाएको छ । गुरुयोजनाअनुसार फिल्म सिटीमा बसोबाससहितको प्रशासनिक भवन, इन्डोर सुटिङ स्टुडियो, पोस्ट प्रडक्सन युनिट, मनुमेन्टल एभिन्यु, गेस्टहाउस, विभिन्न जातजातिको थिमाटिक भिलेज, हेलिप्याड र करिब ७५ रोपनी क्षेत्रफलमा पोखरी निर्माण हुनेछ ।

Facebook Comments