Thu. Dec 26th, 2024

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुल्ला केन्द्रीय सदस्यको मतगणना जारी

काठमाण्डौं, २०७८ पुस ३ गते शनिबार । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज खुल्ला तर्फको केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा एक हजार मतको गणना सकिएको र विभिन्न १३ वटा समूहमा गणना भइरहेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

खुल्ला तर्फको ३५ केन्द्रीय सदस्य पदका लागि ९९ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । पद तथा उम्मेदवारको सङ्ख्या धेरै भएका कारण मतगणना सकिन अझै केही समय लाग्ने सचिव श्रेष्ठले बताउनुभयो ।

जारी अधिवेशन अन्तर्गत पदाधिकारीहरूको मतगणना भने सम्पन्न भइसकेको छ जारी अधिवेशन अन्तर्गत पदाधिकारीहरूको मतगणना भने सम्पन्न भइसकेको छ ।

जस अनुसार नेपाली काँग्रेसको आगामी ४ वर्षे कार्यकालका लागि प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको छ भने उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्का निर्वाचित हुनुभएको छ ।

यस्तै महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा विभिन्न आठ वटा क्लस्टरबाट सह महामन्त्रीमा बद्री पाण्डे, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, किशोरसिंह राठौर, डिना उपाध्याय, भीष्मराज आङ्दम्बे र जीवन परियार निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेसको संशोधित विधान अनुसार एक सभापति २ उपसभापति, २ महामन्त्री, ८ सह-महामन्त्री, ३५ खुल्ला केन्द्रीय सदस्य तथा विभिन्न क्लस्टरबाट ८६ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ।

Facebook Comments