Fri. May 17th, 2024

छत्रपाटी निःशुल्क चिकित्सालयमा दैनिक १०० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट स्थापना

काठमाण्डौं, २०७८ पुस ३ गते शनिबार । काठमाण्डौंको छत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ ।

दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने सो प्लान्टको आज विहान एक समारोहबीच उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले समुद्घाटन गर्नुभएको हो । हेल्प नेपाल ब्रेथ र दया फाउण्डेसनको विषेश सहयोगमा स्थापित सो अक्सिजन प्लान्ट समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री भुसालले ६५ वर्षअघि स्थानीय जनसमुदायलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको चिकित्सालय वर्तमान अवस्थामा एउटा अत्याधुनिक सुविधा सम्पन्न निःशुल्क अस्पतालको रूपमा सञ्चालन भइरहेकोमा अत्यन्त खुसी व्यक्त गर्नुभयो ।

उहाँले चिकित्सालयलाई चाहिने कुनै पनि सहयोग केन्द्र सरकारबाट दिनेमा पछि नहट्ने बताउँदै आर्थिक वर्ष २०७९८० को बजेटमा केही रकम समावेश गर्न आफुले पहल गर्ने बताउनु भयो । साथै उहाँले आगामी आर्थिक वर्षदेखि चिकित्सालयले खपत गर्ने विजुलीमा सहुलियत दरको छुट व्यवस्था गरिदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले भन्नुभयो, “अधिकार सम्पन्न स्थानीय सरकार बनेको छ । जनताको घर आगनमा पुग्ने सिंहदरवार भनेर संघीय संरचनामा गइसकेपछि तीन तहका सरकार बनायौं ।’ मन्त्री भुसालले भन्नुभयो, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितको अधिकार सम्पन्न स्थानीय सरकार महानगरपालिका बनेको छ । यसको उद्देश्य भनेको धेरैभन्दा धेरै सुविधा यसले जनताको घरदैलोमा पुर्याउनु नै हो ।’

साथै मन्त्री भुसालले काठमाण्डौं महानगरपालिका जस्तो देशको राजधानी भएको पालिकाले आफ्नै छुट्टै अस्पताल, मेडिकल कलेज, इञ्जिनीयरिङ कलेज, ज्येष्ठ, बालबालिका र अपांगता भएका नागरिकलाइ छुट्टै सेवा दिने केन्द्र निर्माण भइसक्नुपर्नेमा जोड दिनुभयो ।

सो समारोहमा बोल्दै चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अक्सिजन प्लान्ट स्थापना गर्न करिब डेढ करोड खर्च लागेको जानकारी दिनुभयो । डा. श्रेष्ठले हरेक दिन ३५ सिलिण्डर हुँदै ६५ सम्मको योजना बनेको र अहिले १०० सिलिण्डरसम्म उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट स्थापना गर्न सफल भएको बताउनुभयो । अक्सिजन प्लान्ट स्थापना गर्न हौसला र फण्ड राइजिङमा सहयोग गर्ने सोनिका मानन्धर, दया फाउन्डेसनका अध्यक्ष राजेश प्रधान, सदस्य कृपा माथेमा र अन्य पदाधिकारीहरु, प्लान्टको लागि जग्गा उपलब्ध गराउने कन्यामन्दिर स्कूल लगायत सम्पूर्ण सहयोगी संस्था तथा व्यक्तिहरुलाई उहाँले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । कोभिड-१९ को दोस्रो लहर चलेपछि चिकित्सालयले चार महिना निःशुल्क कोभिड उपचार सेवा सञ्चालन गरेको पनि डा. श्रेष्ठले जानकारी दिनुभयो । केही समयअघि मात्रै अत्याधुनिक प्याथोलोजी ल्याब स्थापना गरेको र चिकित्सालयले अब आधुनिक भवन निर्माण गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

अक्सिजन प्लान्ट स्थापनाको प्रस्ताव गर्ने र फण्ड राइजिङ गर्ने इञ्जिनीयर सोनिका मानन्धरले केही काम गरौं भन्ने हिसाबले अघि बढ्दा यो स्थानमा पुगेको बताउनु भयो । आफ्नो प्रयासले आवश्यक सहयोग जुट्छ कि जुट्दैन भन्ने ग्यारेन्टी नभइ गरेको प्रयासले अक्सिजन प्लान्ट स्थापना हुन सकेकोमा आफूलाई गर्व लागेको उहाँले बताउनु भयो । उहाँले ५८ लाख जम्मा गर्ने लक्ष्य राखेर फण्ड कलेक्सन गर्न सुरु गरेको १५ दिनभित्रै ८० प्रतिशत फण्ड प्राप्त गर्न सकेको बताउनु भयो । फण्ड कलेक्सन गर्न र प्लान्ट स्थापना गर्न सहज भए पनि अब यसको उपयोग कठिन रहेको उल्लेख गर्दै उहाँले त्यसको भरपुर उपयोग गरेर सर्वसाधारणमा उत्कृष्ट सेवा दिन चिकित्सालयलाई आग्रह गर्नुभयो ।

दया फाउण्डेसनका संस्थापक सदस्य कृपा माथेमाले शिक्षा, स्वास्थ्य र सम्पदामा सहयाेग गर्ने संस्थाकाे नीतिअनुरूप चिकित्सालयले डेंगु र काेभिडकाे महामारीमा निर्वाह गरेको उत्कृस्ट भूमिका प्रसंशा एवं कदर स्वरूप अक्सिजन प्लान्ट स्थापना गर्न सहयाेग गरेकाे बताउनुभयाे ।

काठमाण्डौ महानगरपालिका वडा नं. १७ का अध्यक्ष नविन मानन्धरले एकता नै बल हो भन्नुहुँदै २०१३ सालमा माउ बद्रिले देखेको सपना र सोचलाई सबैले साथ दिएको हुनाले चिकित्सालय यो अवस्थामा पुग्न सफल भएको बताउनुभयो । शिक्षा र स्वास्थ्य समानान्तर रूपमा अघि बढाउनु पर्नेमा जोड दिंदै उहाँले चिकित्सालयलाई सरकारले पर्याप्त मात्रामा सहयोग नगरेको गुनासो पोख्नुभयो ।

प्रत्यक्ष प्रसारण हेर्न तलको लिंक खोल्नुहोस् ।

https://fb.watch/9ZveRFT15b/

Facebook Comments