नेपाली कांग्रेसको महाधिवेशन: तीन सहमहामन्त्रीको परिणाम घोषणा, महिलामा डिना उपाध्याय, जनजातिमा भीष्मराज आङदेम्बे र दलितमा जीवन परियार निर्वाचित
काठमाण्डौं, २०७८ पुस १ गते बिहीबार । नेपाली कांग्रेसको सहमहामन्त्री महिला खुलातर्फ डिना (महालक्ष्मी) उपाध्याय विजयी हुनुभएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार उपाध्यायले २ हजार ५३३ मत प्राप्त गर्नुभएको छ । सोही पदकी उम्मेदवार कमला पन्तले २ हजार १०५ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी, दलिततर्फ सहमहामन्त्री पदमा जीवन परियार निर्वाचित हुनुभएको छ । उहाँले दुई हजार २१५ मत प्राप्त गर्नुभएको छ । दलितर्फ सहमहामन्त्री पदका उम्मेदवारद्वय मानबहादुर विश्वकर्माले २ हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गर्नुभयो । आदिवासी जनजातीतर्फ सहमहामन्त्री पदमा भीष्मराज आङदेम्बे निर्वाचित हुनुभएको छ । आङदेम्बेले २ हजार ७११ मत प्राप्त गर्दा सहमहामन्त्री पदका उम्मेदवार विकास लामाले १ हजार ९१३ मत पाउनुभएको छ ।
अन्य ५ क्षेत्रतर्फ सहमहामन्त्री पदको मतगणना शुक्रबार मात्रै हुनेछ । जसमा खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेशीतर्फ महेन्द्र यादव, रञ्जीत कर्ण र रामकृष्ण यादवले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी, मुश्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकीलले उम्मेदवारी दिनुभएको छ । थारुतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरीले उम्मेदवारी दिनुभएको छ । पिछडिएको क्षेत्रबाट चेतराज बजाल, जीवनबहादुर शाही र बद्री पाण्डेले उम्मेदवारी दिनुभएको छ । काँग्रेसको विधानअनुसार सहमहामन्त्री हुने व्यवस्था छ ।