Mon. Dec 23rd, 2024

वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमसँग आग्रह

काठमाण्डौं, २०७८ पुस १ गते बिहीबार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम)का मिसन प्रमुख लोरेना ल्यान्डोले शिष्टाचार भेट गर्नुभयो ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबिच आप्रवासी नेपाली कामदारको क्षेत्रमा आइओएमले नेपाल सरकारसँग गरिरहेको सहकार्यबारे समीक्षा भयो ।

मन्त्री श्रेष्ठले कोभिड-१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरूले भोगेका बहुआयामिक समस्याको सम्बोधनका लागि आइओएम नेपालले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमबाट सहयोगको आग्रह गर्नुभयो ।

वैदेशिक रोजगारीमा गई नेपाल फर्केका नागरिकहरूले आर्जन गरेका सीप र पुँजीको परिचालनका लागि मन्त्रालयले गरेका प्रयासमा आइओएमले सहयोग गरेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले पाँच बर्षे रणनीतिमा उल्लेख गरिएका विषय कार्यान्वयन गर्न मन्त्रालय र आइओएम नेपालबीच छुट्टै समझदारी हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले  मन्त्रालय र आइओएम नेपालबीच आगामी पाँच बर्षे संयुक्त रणनीति पत्रको मस्यौदा गर्न विज्ञ समिति गठनको प्रस्ताव समेत गर्नुभयो ।

उहाँले  नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रुपमा परिचालन गर्ने राज्यको नीति रहेको बताउनुभएको थियो ।

साथै उहाँले नेपाल सरकारको नीति तथा कार्यक्रममा श्रम आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवद्दताहरुलाई आन्तरिकिकरण गर्दै लगिने कुरा उल्लेख रहेको र यस सम्बन्धमा आइओएम नेपालको तर्फबाट सरकारलाई पुर्‍याएको योगदानप्रति आभार व्यक्त गर्नुभएको थियो । रेडियो नेपाल

Facebook Comments