Mon. Dec 23rd, 2024

गगन थापा र विश्व प्रकाश शर्मा नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित

काठमाण्डौं, २०७८ पुस १ गते बिहीबार । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ । सो पार्टीको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा गगन थापा ३ हजार २३ मत र विश्वप्रकाश शर्मा १ हजार ९ सय ८४ मत ल्याएर विजयी हुनुभएको हो ।

केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतपरिणाम सार्वजनिक गरेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार नेपाली कांग्रेसको विधान अनुसार थापा र शर्मा महामन्त्री पदमा निर्वाचित हुनुभएको हो ।

महामन्त्रीका ६ जना प्रतिस्पर्धीमध्ये प्रकाशशरण महतले १५ सय ५६, प्रदीप पौडेलले १३ सय ९३ मत प्राप्त गर्नुभयो भने मिनेन्द्र रिजालले ८ सय ९ मत प्राप्त गर्नुभएको छ । महामन्त्रीका अर्का उम्मेदवार राजाराम कार्कीले भने १ सय ६ मत मात्र प्राप्त गर्नुभएको छ ।

खसेको कुल ४६ सय ८२ मतमध्ये ४३ मत बदर भएको छ । कांग्रेस सभापतिमा शेरबहादुर देउवा यसअघि नै विजयी हुनुभएको छ । उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।

निर्वाचन समिति संयोजक घिमिरका अनुसार सहमहामन्त्रीको मतगणना बिहीबार साँझबाट सुरु हुनेछ । सहमहामन्त्रीको मतगणना सम्पन्न भएपछि केन्द्रीय सदस्यको मतगणना सुरु हुनेछ ।

महामन्त्री पदमा निर्वाचित गगन थापा र विश्व प्रकाश शर्मालाई सफल कार्यकालको लागि भ्वाईस अफ काठमाण्डौंको तर्फबाट हार्दिक बधाई तथा शुभकामना । 

Facebook Comments