Thu. Dec 26th, 2024

खराब मौसमको कारण आन्तरिकतर्फका अधिकांश फ्लाइट होल्ड

काठमाण्डौं, २०७८ मंसिर २३ गते बिहीबार । मौसममा आएको खराबीका कारण त्रिभुवन विमानस्थल काठमाण्डौंबाट हुने अधिकांश फ्लाइट होल्ड भएका छन् । विहान सबेरैदेखि विराटनगरको मौसम खराब भएपछि काठमाण्डौंमा विमान होल्ड भएका हुन् ।

विराटनगर आसपास अहिले पनि बाक्लो हुस्सु लागेको छ । जसका कारण काठमाण्डौंबाट विमानहरु त्यसतर्फ जान सकिरहेका छैनन् । बिहानै उडान भर्ने विमानहरु १० बजेसम्म पनि उड्न सकेका छैनन् । मौसम अनुकूल हुनेबित्तिकै उडान सूचारु हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

बिहानदेखिका फ्लाइट होल्ड भएपछि सैंयौ यात्रुहरु अलपत्र परेका छन् । बिहानदेखि विमानमा चढेर बसिरहे पनि उड्न नपाएको संखुवासभा मादीमुलखर्क घर भएका बुद्ध एयरका एक यात्रुले बताएका छन्। समयमा फ्लाइट नहुँदा समयमा पुग्नुपर्ने यात्रुलाई समस्या परेको छ । हिँजो बेलुकी ७ः५० बजेको सौर्य एयरको फ्लाईट खराव मौसमको कारण स्थगित भएपछि सो फ्लाईटका यात्रुहरुलाई आज विहान ८ बजेको उडान तालिका दिएर विमानस्थलमा बोलाईएको थियो । तर आज फेरी विराटनष्रको मौसम खराब भएपछि विहानै ६ः३० बजे विमानस्थल पुगेका विराटगरका धेरै यात्रुहरु अलपत्र भएका छन् । उनीहरुलाई मौसम सफा हुनासाथ विराटनगर उडाईने सौर्य एयरले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश एकका अधिकांश भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने जानकारी दिएको छ । तापक्रम बढेसँगै हुस्सु हट्ने र दिउँसोबाट नियमति उडान हुने अपेक्षा गरिएको विमानस्थल स्रोतले बताएको छ ।

Facebook Comments