Tue. Dec 24th, 2024

सार्कलाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

काठमाण्डौं, २०७८ मंसिर २२ गते बुधबार । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सार्क प्रक्रियालाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

सार्क स्थापनाको ३७औँ वर्ष प्रवेश अर्थात् सार्क बडापत्र दिवसको अवसरमा सदस्य राष्ट्रका जनता र सरकारलाई आज बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्रीले १९औँ शिखर सम्मेलन चाँडो आह्वान गरेर सङ्गठनलाई नवजीवन दिनुपर्ने बताउनुभएको हो ।

सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको प्रमुख खाका भएको र त्यसबाट दक्षिण एशियाका जनताको हितमा केही उल्लेखनीय प्रगति भएको बताउँदै प्रधानमन्त्री देउवाले यद्यपि क्षेत्रीय सद्‍भाव प्रवर्द्धन, गरिबी र असमानताको अन्त्य, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्ने हाम्रा प्रयासहरूले आवश्यक सामथ्र्य हासिल गर्न बाँकी रहेको यथार्थ प्रस्तुत गर्नुभएको छ ।

प्रधानमन्त्रीले कोभिड-१९ महामारीबाट उत्पन्न चुनौती र जोखिमलाई उल्लेख गर्दै उत्थानशील पुनरुत्थान एवं सुदृढ पुनःनिर्माणमा केन्द्रित हुँदै क्षेत्रीय समझदारी र ऐक्यबद्धतालाई पुनः आत्मसात गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

Facebook Comments