Wed. Dec 25th, 2024

बुष्टर डोजको खोप केही दिनमा नै सुरु गर्ने सरकारको तयारी

काठमाण्डौं, २०७८ मंसिर २१ गते मंगलबार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड-१९ विरुद्धको खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने बताउनुभएको छ । आज नुवाकोटको त्रिशूली अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री खतिवडाले कुनै पनि सङ्कोच नमानी कोरोना भाइरसविरुद्धको खोप लगाउन नागरिकलाई आग्रह गर्नुभएको छ ।

मन्त्री खतिवडाले सरकारले १८ वर्षमुनिका लागि पनि एक करोड डोज खोप ‘बुक’ गरिसकेकाले विद्यालयमा नै खोप केन्द्र बनाएर बालबालिकालाई खोप प्रदान गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले देशभर १६ हजार खोप केन्द्र स्थापना गरी कोभिड–१९ विरुद्धको खोप जनतालाई लगाउने तयारी भइरहेको बताउनुभयो ।

“हरेक नागरिकलाई खोप लगाउने सरकारको योजनालाई साकार पार्दैछौँ”, मन्त्री खतिवडाले भन्नुभयो, “नेपाली नागरिकलाई पुग्ने गरी खोप ल्याएका छौं । साढे तीन करोड डोज खोप पाइपलाइनमा रहेको छ ।” मन्त्री खतिवडाले नागरिकलाई बुष्टर डोजको खोप केही दिनमा नै सुरुआत गरिनेसमेत बताउनुभएको छ । “दुई डोज खोप लगाइसकेकालाई बुष्टर डोज खोपको लागि मन्त्रिपरिषद्मा छलफल भएको छ । केही दिनमा नै त्यसको निर्णय हुनेछ”, मन्त्री खतिवडाले भन्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेशभित्र रहेको जिल्ला अस्पतालको निरीक्षण गरेर आवश्यकता पहिलाउँदै समाधानको बाटोमा जाने बताउनुभयो । उहाँले गुणस्तरीय सेवा प्रवाह गर्नलाई प्रदेश सरकारबाट गर्नुपर्ने सबै प्रकारको सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै त्रिशूली अस्पतालमा पाँच शय्याको डायलासिस कक्ष स्थापना गर्ने चरणमा रहेकोसमेत जानकारी दिनुभयो ।

कोरियन सहयोग नियोग (कोइका)ले सहयोगमा ५० शय्याको अस्पताल निर्माण भएको हो । भूकम्पपछि अस्पतालमा सबै संरचना भत्किएपछि टेन्टबाट सेवा दिँदै आएको अस्पतालको नयाँ भवन डेढ वर्षअघि निर्माण सम्पन्न भएको थियो । अस्पताल ५० शय्याको भए पनि १२० शय्या राखेर सेवा प्रवाह हुँदै आएकाले अस्पतालको शय्या सङ्ख्या बढाउन पर्ने अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले बताउनुभयो ।

विसं २०२१ मा त्रिशूली जलविद्युत् निर्माणको क्रममा कामदारको उपचारको लागि स्थापना गरिएको स्वास्थ्यचौकी नै २०३२ सालबाट सर्वसाधारणको लागि उपचार गर्ने अस्पताल बनाइएको हो । २५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताल २०६९ सालबाट ५० शय्यामा विस्तार गरिएको हो । नुवाकोटको साथै धादिङ र रसुवा जिल्लाका बिरामीको लागि त्रिशूली अस्पताल उपचारको केन्द्र बनेको छ । नेपाल टलिभिजन

Facebook Comments