Fri. May 17th, 2024

ओमिक्रोन भेरियन्ट देखिएसँगै नेपालमा उच्च सतर्कता

काठमाण्डौं, २०७८ मंसिर २० गते सोमबार । नेपालमा कोभिड-१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो । नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एकजनामा ओमिक्रोन भेरियन्ट देखिएको हो । दुवै जनाको प्रयोगशालाको जीन सिक्वेन्सिङ गर्दा ओमिक्रोन देखिएको हो । नेपालमा पहिलो पटक कोभिड-१९ को सङ्क्रमण २०७६ माघ ९ गते देखिएको थियो । चीनको वुहानबाट नेपाल आएका एक जनामा सङ्क्रमण देखिएको थियो ।

विदेशी नागरिकको सुरुमा नेपाल आउँदा पिसिआर गर्दा नेगेटिभ देखिएको र कोरोना भाइरस विरुद्धको खोपको मात्रा पूरा गरेको पाइएको थियो । त्यसपछि मङ्सिर ७ गते ती विदेशी र उनका नजिकको सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्तिको कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड-१९ को नतिजा पोजेटिभ आएको थियो ।

“कोभिड-१९ पोजिटिभ आएकाको S-gene परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीतिअनुरुप परीक्षण गर्दा दुवै जनाको नमूनामा S-gene फेला परेको थिएन”, उहाँले भन्नुभयो, S-gene फेला नपरेका उक्त दुवै नमूनाको टेकु प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको हो ।”

उहाँका अनुसार हाल दुवै जना सरकारले तोकेको मापदण्डानुसार आइसोलेसनमा रही स्वास्थ्यलाभ गरिरहेका छन् । ती दुई सङ्क्रमितमा कुनै लक्षण नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयले उक्त दुई व्यक्तिसँग सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङगमा रहेका ६६ जनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको छ । गोरखापत्र अनलाईन

Facebook Comments